मुम्बईको चेन्नइमाथि रोमाञ्चक जित, पञ्जाबले देल्हीको सामना गर्दै

  बैशाख १९, २०७८

काठमाडौं, वैशाख १९ : इन्डियन प्रिमियर लिग(आईपीएल)को २७ औं खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई चार विकेटले हराएको छ । मुम्बईको जितमा अलराउन्डर क्यारन पोलार्डले अविजित रहँदै ८७ रनको पारी खेलेपछि उसले २१९ रनको असहज लक्ष्य पुरा गरेको हो ।

चेन्नइले प्रस्तुत गरेको २१९ रनको लक्ष्य पछ्याउँदै मुम्बईले उत्कृष्ट सुरुवातका बावजूद ८१ रनमा तीन विकेट गुमाएर दबाबमा आएको थियो । तर अलराउन्डर क्यारन पोलार्डले चौथो विकेटका लागि क्रूनाल पाण्ड्यासँग मात्र ४१ बलमा ८९ रनको उत्कृष्ट साझेदारी गर्दै जित नजिक पुर्याउनुभयो । क्यारन पोलार्डले मात्र ३४ बलमा छ चौका र आठ छक्का प्रहार गर्नुभयो ।

क्रूनाल पाण्ड्या ३२ रन बनाएर पेभेलियन फर्किदा हार्दिक पाण्ड्याले मात्र सात बलमा १६ रनको पारी खेलेर टोलिको योगफल २०२ रनसम्म पुर्याउनुभयो । चेन्नइका लागि साम कर्रनले सर्बाधिक तीन विकेट लिनुभयो । रबिन्दर जडेजा, श्रद्धुल ठाकुर र मोइन अलिले एक एक विकेट लिए । तीव्र गतिका बलर लुंगि एनगिडीले चार ओभरमा ६२ रन खर्चिदा विकेटविहीन बन्न पुग्नुभयो ।

त्यसअघि, देलहीमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको चेन्नइले चार रनमै ओपनर ऋतुराज गाइकवडको विकेट खसेपछि कमजोर सुरुवात गर्न पुग्यो । अर्का ओपनर फाफ डु प्लेसिसले मोइन अलिसँग दोस्रो विकेटका लागि १०८ रनको साझेदारी गर्नुभयो । दुबै जनाले ६० बलमा १०४ रनको साझेदारी गरे । मोइन अलिले ५८ तथा डु प्लेसिसले ५० रनको पारी खेले ।

मध्यक्रममा अम्बाटी रायडूले मात्र २७ बलमा चार चौका र सात छक्काको सहयोगले ७२ रनको अविजित पारी खेल्दै चेन्नइलाई चार विकेटको क्षतिमा २१८ रनको सम्मानजनक योगफलसम्म पुर्याउनुभयो । रबिन्दर जडेजाले २२ बलमा अविजित २२ रनको योगदान दिनुभयो । मुम्बईका लागि क्यारन पोलार्डले दुई तथा ट्रेन्ट बौल्ट र जसप्रित बुमराहले सामान एक एक विकेट लिए ।

प्रतियोगिता अन्तगर्त आज हुने एक मात्र खेलमा पञ्जाब किंग्सले देलही क्यापिटल्सको सामना गर्दैछ । अङ्कतालिकाको दोस्रो स्थानमा रहेको देलहीले आजको खेल जिते शीर्ष स्थानमा उक्लिनेछ । पञ्जाब भने सात खेलमध्ये मात्र तीनमा जित हात पारेको छ ।

तपाईको प्रतिक्रिया