एमाले नेता खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पतालमा भर्ना

  बैशाख १८, २०७८

काठमाडौं, वैशाख १८ : नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालमा कोरोनाभाइरस संक्रमण (कोभिड–१९) देखिएको छ । पिसिआर परीक्षण गर्दा उहाँमा सङ्क्रमण पुष्टि भएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

सङ्क्रमण भएपछि उहाँलाई अहिले थापाथलिस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको छ । यसअघि उहाँलाई सङ्क्रमण भएपछि मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । सङ्क्रमणको दोस्रो लहर आएपछि धेरै मानिसलाई सङ्क्रमण हुन थालेको छ । सरकारकै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

खनाल अक्सिजनको सामान्य सपोर्टमा
वरिष्ठ नेता झलनाथ खनाललाई अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ । नर्भिक अस्पतालमा आज साँझ भर्ना भई उपचाररत रहनुभएका उहाँलाई अक्सिजनको सामान्य सपोर्टमा राखेर उपचार गरिरहेकोे अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

तपाईको प्रतिक्रिया