क्रिकेट गतिविधि अनिश्चितकालका लागि स्थगित

  बैशाख १८, २०७८

काठमाडौं, वैशाख १८ : नेपाल क्रिकेट सङ्घ (क्यान)ले कोरोनाभाइरसको महामारीका बीच सबै खाले क्रिकेट गतिविधि बन्द गर्ने निर्णय गरेको छ । क्यानका सचिब अशोकनाथ प्याकुरेलले कोभिड-१९ को वर्तमान अवस्थामा सुधार नआएसम्म र संघबाट अर्को सूचना जारी नभएसम्म प्रस्तावित सबै प्रतियोगिता स्थगित भएको बताउनुभएको छ ।

क्यानका सचिब प्याकुरेलले एक विज्ञप्ति जारी गरेर जिल्ला स्तरीय प्रतियोगिता लगायत जिल्ला छनोट एवम् प्रादेशिक छनोट र अन्य राष्ट्रहरुसँग तय भएको द्विपक्षीय एवम् त्रिपक्षीय सिरिजहरु तत्कालका लागि स्थगित गरिएको बताउनुभएको हो । क्यानको उक्त निर्णयपछि मई महिनामा हुने नामीबियाविरुद्धको एकदवबसीय श्रृखंला समेत स्थगित भएको छ । मन्त्रीपरिषद्को यसै साता बसेको बैठकले समूहमा खेलिने खेलमा समेत रोक लगाएको छ । उक्त निर्देशिकाको पालना गर्दै क्यानले क्रिकेट गतिविधि रोक्ने निर्णय गरेको हो ।

नेपाल क्रिकेट सङ्घले आईसीसीको प्रावधान अनुसार क्लब, एकेड्मी एवम् सङ्घ संस्थाहरुबाट आयोजना गरिने क्रिकेट कार्यविधि तयार गर्न लागेको छ । क्यानले उक्त कार्यविधि तयार भई लागू नभएसम्म अन्य क्लब, एकेड्मी एवम् सङ्घसंस्थाहरुले आयोजना गर्ने प्रतियोगितामा जिल्ला एवम् प्रादेशकि क्रिकेट सङ्घलाई स्वामित्व नलिन निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया