नेपालले दुई दशकपछि इराकसँग फुटबल खेल्ने

  बैशाख १८, २०७८

काठमाडौं, बैशाख १७ : नेपालको राष्ट्रिय फुटबल टोलिले इराकसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । बिहीबार अखिल नेपाल फुटबल संघ(एन्फा)ले इराकसँग मैत्रीपूर्ण खेलको तालिका सुनिश्चित भएको जनाएको छ ।

एन्फाका अनुसार नेपालले इराकको बसरा अन्तर्राष्ट्रिय रङशालामा मई २९ को दिन मैत्रीपूर्ण फुटबल खेल्नेछ । नेपालले पछिल्लो दुई दशकमा पहिलोपटक इराकको सामना गर्न लागेको हो ।

यसअघि नेपाल र इराक तीन पटक एक अर्काको सामना गरेको छ । तीनै अबसरमा इराकले जित हात पारेको छ । पछिल्लो पटक अप्रिल, २००१ मा नेपालले विश्वकप छनोट अन्तगर्त इराकको सामना गरेको थियो । उक्त खेलमा इराकले नेपालमाथि ४–२ को जित हात पार्यो ।

नेपाल विश्वकप छनोटको दोस्रो चरणको खेल अघि इराकको सामना गर्नेछ । छनोट अन्तगर्त नेपाल र चाइनिज ताइपेइबीचको खेल जुन ३ का लागि निर्धारण गरिएको छ ।

दोस्रो खेलमा जोर्डन बिरुद्ध जुन ७ मा र अष्ट्रेलिया बिरुद्ध जुन ११ मा नेपालले स्पर्धा गर्नेछ । विश्वकप छनोटको दोस्रो चरणको तीन वटै खेल कुवेतमा हुनेछ ।

तपाईको प्रतिक्रिया