ललितपुर र धनगढीले बराबरी खेल्यो, काठमाडौंले पोखराको सामना गर्दै

  बैशाख १७, २०७८

काठमाडौं, बैशाख १७ : नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगितामा ललितपुर सिटी एफसीले धनगढी एफसीसँग बराबरी खेलेको छ । बिहीबार सम्पन्न एक मात्र खेलमा दुई टोलिले १–१ को बराबरी खेलेको हो ।

दशरथ रङशालामा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएको थियो । दोस्रो हाफमा विदेशी खेलाडी ओलवाले अफिजले ७२ औं मिनेटमा गोल गर्दै धनगढीलाई १–० को अग्रता दिलाउनुभयो ।

तर उक्त अग्रता लामो समय टिक्न सकेन । ललितपुरका रञ्जन विष्टले ७९ औं मिनेटमा गोल फर्काउँदै ललितपुरले खेल १–१ को स्थितिमा ल्यायो । अन्तिम समयसम्म दुबै टोलिले कुनै गोल थप्न नसक्दा खेल १–१ को बराबरीमा टुंगिएको हो ।

अङ्क बाँडेपनि धनगढी अङ्कतालिकाको दोस्रो स्थानमा उक्लिन सफल भयो । उसले तीन खेलमध्ये एकमा जित, एकमा हार र एक बराबरी गरी चार अङ्क जोडेको छ । ललितपुर भने तीनमध्ये दुईमा बराबरी र एउटामा हार बेहोर्दा दुई अङ्क जोडेपछि पूछारबाट उक्लिन सकेन ।

प्रतियोगिता अन्तगर्त आज हुने खेलमा काठमाडौंले पोखरा थन्डर्सको सामना गर्दैछ । काठमाडौं पाँचौं स्थानमा छ । पोखरा चौथो स्थानमा छ । दुबैमध्ये जित्ने टोलि अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिनेछ ।

तपाईको प्रतिक्रिया