भारतमा एकै दिनमा तीन लाख २३ हजारभन्दा बढी सङ्क्रमित

  बैशाख १४, २०७८

काठमाडौं, वैशाख १४ : भारतमा पछिल्लो २४ घण्टामा तीन लाख २३ हजारभन्दा बढी नागरिक कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । एकै दिन तीन लाखभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएकाे यो छैटाैं दिन हो ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट भारतमा दुई हजार ७७१ जनाको मृत्यु भएकाे छ । हालसम्म कोरोना सङ्क्रमणबाट भारतमा एक लाख ९७ हजार ८९४ व्यक्तिको निधन भइसकेको छ । भारतमा हालसम्म एक करोड ७६ लाख ३६ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् ।

भारतमा हाल २८ लाख ८२ हजारभन्दा बढी ब्यक्तिमा भाइरसको सङ्क्रमण सक्रिय अवस्थामा छ । भारतमा हालसम्म एक करोड ४५ लाख ५६ हजारभन्दा बढी कोरोनामुक्त भएका छन् ।

भारतमा सोमबार मात्रै १६ लाख ५८ हजार ७०० जनाको कोरोना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल २६ सम्म कुल २८ करोड ९७ लाख २१ हजारभन्दा बढीले कोरोना परीक्षण गरिसकेको पनि परिषद्ले उल्लेख गरेको छ ।

भारतको राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यका रुपमा छ । सोमबार मात्र एकैदिनमा २० हजार २०१ जना थप व्यक्ति कोरोना भाइरस सङ्क्रमण देखिएको र ३८० जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया