कोरोना सङ्क्रमित बढेपछि वीरगञ्ज नाकामा कडाइ

  बैशाख १०, २०७८

वीरगञ्ज, वैशाख १० : भारतसँग सिमाना जोडिएको वीरगञ्ज महानगरपालिका र आसपासका क्षेत्रमा कोरोना सङ्क्रमण ह्वात्तै बढेपछि स्थानीय प्रशासनले सीमा नाकामा कडाइ गरेको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले सिमानाकामा हुने आवागमनमा कडाइ गरिएको जानकारी दिनुभयो । अत्यावश्यक कामबाहेक कसैलाई भारतबाट नेपाल भित्रिन नदिइएको उहाँले जानकारी दिनुभयो ।

खुला र अनियन्त्रित आवागमनले कोरोना सङ्क्रमण अझ फैलिने जोखिम बढेपछि नाकाबाट अनावश्यक या साना कामका लागि हुने आउजाउलाई निरुत्साहित गर्न स्थानीय प्रशासनले सीमा नाकामा कडाइ गरेको हो । वीरगञ्ज महानगरपालिका लगायत पर्सा जिल्लामा नै सक्रिय सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्न थालेपछि सिमा नाकामा कडाइ गरिएको र मुख्य नाकामा दुईवटा हेल्थडेक्स राखी भारतबाट आउने मानिसहरूको तापक्रम जाच्ने तथा कोरोनाको एन्टिजेन परीक्षण गर्ने कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले गोरखापत्रलाई बताउनुभयो ।

एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएमा सङ्क्रमण पुष्टि भएकाहरूलाई आइसोलेसनमा पठाउने गरिएको उहाँले जानकारी दिनुभयो ।स्थानीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बिहीवार बैठक बसी पर्साका १४ वटै स्थानीय निकायहरूमा आइसोलेसन बनाउने निर्णय गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको संयोजकत्वमा बसेको पर्साका १४ ओटा पालिका प्रमुखहरूको बैठकले कोरोना महामारीको दोस्रो लहर फैलिन नदिन आइसोलेसन र उपचारका अन्य पूर्वाधार तयारी राख्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

पछिल्लो केही दिन यता भारतका विभिन्न सहरमा रोजगारीको लागि पुगेका नेपालीहरु नेपाल फर्किने क्रम बढेको छ । वीरगञ्जको सीमावर्ती सहर रक्सौलमा रहेको रेल्वे स्टेशनमा दिल्लीलगायत विभिन्न भारतीय सहरबाट सिधा रेलसेवा सुचारु रहेकाले पनि यो नाका भएर भित्रिने नेपालीको सङ्ख्या बढेको हो ।

भारत र नेपालका सीमावर्ती गाउँहरुमा धेरैको वैवाहिक सम्बन्धका कारण भारतमा कोरोना सङ्क्रमण बढेपछि नेपालमा रहेका आफन्तकोमा पाहुना बनी छोरी ज्वाइँका वा बुहारीका नातेदारहरु आउन थालेपछि पनि नेपाल भित्रिनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको हो ।

त्यस्तैगरी बारा पर्सामा रहेका उद्योग कलकारखानामा अधिकांश कामदारहरु भारतीय रहेकाले भारतमा कोरोनाले महामारीको रुप लिन थालेपनि यसक्षेत्रको उद्योग कलकारखानामा कार्यरत कर्मचारी एंव मजदुरले आफन्तलाई यतै बोलाउन थालेपछि सिमानाका भएर नेपाल भित्रिनेमा नेपालीमात्र नभई भारतीयको सङ्ख्या पनि उल्लेख्य रहने गरेको छ ।

तपाईको प्रतिक्रिया