साहसी कुमाल दाजुभाइले नरभक्षी चितुवालाई पराजित गरे

  बैशाख ०८, २०७८

तनहुँ, वैशाख ८ : तनहुँका एक निडर दाजुभाइले नरभक्षी चितुवासँग लडेर आफ्नो ज्यान बचाउन सफल हुनुभएको छ । व्यास नगरपालिका–६ शिसाघाटका ५२ वर्षीय मदन कुमाल र उहाँको भाइ ३९ वर्षीय भेषबहादुर कुमालले बुधबार दिउँसो साढे १२ बजे चितुवासँग लडेर चितुवालाई पराजित मात्रै गर्नुभएन डोरीले बाँधेर नियन्त्रणमा लिनसमेत सफल हुनुभयो । चितुवालाई पराजित गर्ने मदन ठूलो बुबा र भेष माईलो बुबाको छोरा हुनुहुन्छ ।

‘‘नरभक्षी चितुवाले मलाई आक्रमण ग-यो म लडी रहेको देखेर भाइ भेषबहादुर आएर दुबै जना मिलेर चितुवालाई पराजित गर्याैँ’’ अरु मान्छेलाई पनि आक्रमण गर्ने हुनाले जोखिम मोलेर लौरोले चितुवाको मुखलाई थुन्दै चार वटै खुट्टा बाँधेर नियन्त्रणमा लियौं’’ कुमालले भन्नुभयो । दमौली बजार जाने क्रममा चितुवाले दाईलाई आक्रमण गरेको देखेर आफू पनि चितुवा माथी जाई लागेको भेषबहादुरले बताउनुभयो । कुमाल दाजुभाइले चितुवालाई पराजित गरी नियन्त्रण लिन सफल भएपछि सबैले प्रशंसा गरेको शिसाघाटका सन्तोष चदौलाले बताउनुभयो । एक्ले फाँटमा गाई भैंसी चराउन गोठाला जानुभएका कुमाल चितुवा देखेर गाईवस्तु र एक महिला भागेपछि चितुवालाई धपाउन खोज्नुभएको थियो ।

चितुवालाई धपाउन खोज्ने क्रममा चितुवाले मदनमाथी आक्रमण गरेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । चितुवाले चिथाेर्दा मदनको दायाँ हातमा चोट लागे पनि भेषबहादुरलाई असर नपरेको काफ्लेले बताउनुभयो । चितुवा बुढो भएर शिकार गर्न नसकेर मानव बस्ती नजिक आइपुगेको अनुमान गरिएको छ । मानवलाई आक्रमण गर्ने चितुवालाई घाइते भएको र उद्धार र उपचारको लागि घटनास्थलमा पुगेर डिभिजन वन कार्यालयमा ल्याउँदै गरिएको छ ।

तपाईको प्रतिक्रिया