टेकु अस्पतालमा अन्य सेवा बन्द, कोभिडको मात्र उपचार हुने

  चैत ३१, २०७७

काठमाडौं, चैत ३१ : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड सङ्क्रमितको मात्रै उपचार हुने भएको छ भने अन्य सेवा बन्द हुने भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुनले आज (मंगलबार) देखि कोभिड उपचार सेवामात्र दिने गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

योसँगै टेकु अस्पतामा अन्य उपचार बन्द हुने उहाँले बताउनुभयो । तर, एचआइभी र एन्टी रेबिज भ्याक्सिन सेवा भने यथावत् रहने उहाँले बताउनुभयो ।

उहाँका अनुसार उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएका कारण अस्पतालको अन्तरंग सेवालाई कोभिडको मात्र उपचार सेवा दिने गरी व्यवस्था गरिएको हो ।

गत १० दिनयता अस्पतालमा कोभिड सङ्क्रमित भर्ना हुने क्रम बढिरहेको छ । अहिले अस्पतालमा २० भन्दा बढी सङ्क्रमितहरू उपचाररत रहेको उहाँले बताउनुभयो ।

यसैगरी ललितपुरस्थित पाटन अस्पतालमा पनि कोरोना उपचार हुने गरेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वनिर्देशक डा. विष्णुप्रसाद शर्माले बताउनुभयो ।

डा. शर्माले गत वर्ष कोरोना महामारीदेखि नै पाटन अस्पतालले कोरोनाको उपचार दिँदै आएको र यसलाई अहिले पनि सोही सेवालाई निरन्तरता दिइरहेको बताउनुभयो ।

पाटन अस्पतालमा कोरोना सङ्क्रमितको उपचार नरोकिएको र सङ्क्रमण भएर अस्पताल आउनेलाई उपचार दिइरहेको उहाँले बताउनुभयो ।
नेपालमा चार–पाँच दिनदेखि कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या उकालो लाग्दै गइरहेको पछिल्लो तथ्याङ्कले देखाएको छ ।

सोमबारसम्म ५५९ जनामा सङ्क्रमण पुष्टि भएको छ । जनाको पीसीआर र ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ४९६ र ६३ जनामा संक्रमण पुष्टि भएको हो ।

यसमध्ये सबैभन्दा धेरै काठमाडौंमा १५९ जना, ललितपुरमा ४४ र बाँकेमा ४१ जना थपिएका छन् । यसैगरी सङ्क्रमणबाट थप १३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा हालसम्म २ लाख ८० हजार ५२४ जनामा सङ्क्रमण पुष्टि भएको छ भने मृत्यु हुनेको सङ्ख्या ३०५३ पुगेको छ । हालसम्म नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३३०६ रहेको छ ।

त्यस्तै आइतबार नेपालमा ३०३ जनामा नयाँ कोरोनाको पहिचान भएको थियो । यसमध्ये काठमाडौं उपत्यकामा १५४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

भक्तपुरमा ११, ललितपुरमा १५ र काठमाडौंमा १२८ जनामा नयाँ भेरिअन्टको कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शनिबार ३३७ जनामा सङ्क्रमित थपिएका थिए । ५३२ जनाको आरटी–पीसीआर परीक्षा गरिएकोमा ३३७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
तर, यसरी दिनदिनै सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा उपत्यकामा यसले खासै प्रभाव पारेको देखिँदैन ।

उपत्यकामा यस वर्ष गतवर्ष जस्तो मानिसहरुमा कोरोना सङ्क्रमणको त्रास देखिँदैन । शङ्कास्पद परीक्षण गर्नमा अनकनाउने, मास्क लगाउने, साबुन पानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य मापदण्ड पालना गरेको खासै देखिँदैन ।

काठमाडौंको सुन्धारा, रत्नपार्क, असन, जमल र न्यूरोडलगायतका क्षेत्रमा मास्क नलगाएका व्यक्तिको सङ्ख्या धेरै देखियो । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क नियाल्ने हो भने उपत्यकासहित मुलुकभर पुनः कोरोना र सङ्क्रमितको सङ्ख्या बढ्दै गएको पुष्टि भएको छ ।

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा काठमाडौं उपतयकामा रहेका अस्पतालहरुको शय्या पनि भरिँदै गइरहेको छ । दैनिक ३ सयको हाराहारीमा सङ्क्रमित भेटिन थालेका छन् भने आधाजति सङ्ख्या त उपत्यकामै हुने गरेको छ ।

चैत २३ गतेदेखि कोरोना सङ्क्रमितको सङ्ख्या २ सयमाथि नाघेको देखिन्छ भने चैत २६ बाट सङ्क्रमितको संख्या ३ सयमाथि पुगेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

तपाईको प्रतिक्रिया