तयारी अवस्थामा पूर्वाञ्चल क्यान्सर अस्पताल

  फागुन १५, २०७७

झापा, फागुन १५ : झापाको विर्तामोडमा अत्याधुनिक उपचार सुविधा प्रदान गर्ने लक्ष्यका साथ स्थापित पूर्वाञ्चल क्यान्सर अस्पताल तयार भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन १८ गते अस्पतालको विधिवत् उद्घाटन गर्नुहुने अस्पतालका कार्यकारी प्रमुख दुर्गा प्रसाईँले आज पत्रकार सम्मेलन गरेर जानकारी दिनुभयो ।

तीन सय श्ययाको स्वीकृति पाएको सो अस्पतालमा रु ६०० करोड लगानी भएको उहाँले जानकारी दिनुभयो । अस्पताल गत वर्षदेखि सञ्चालनमा आएको हो । बीएण्डसी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पताल एउटै परिसरमा छ । उद्घाटन समारोहमा प्रसिद्ध नायिका मनिषा कोइराला, प्रसिद्ध अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको समेत उपस्थिति रहने प्रसाईँले बताउनुभयो ।

बीएण्डसी अस्पतालका निर्देशक प्रा डा उमेश शर्माले पूर्वाञ्चल क्यान्सर अस्पताल मुलुककै नमूना अस्पताल भएको बताउनुभयो । क्यान्सरको रेडियो थेरापी, केमो थेरापी, सर्जरीलगायत पूर्ण उपचार हुने भएकाले अब नेपालीले विदेश धाउनु नपर्ने उहाँले बताउनुभयो । अस्पतालमा क्यान्सर उपचारमा महत्वपूर्ण मानिएको पेट स्क्यान, एमआरआइ, सिटी स्क्यानलगायत अत्याधुनिक उपकरण जडान गरिएको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया