जुम्ला आगलागीमा तीन करोडको क्षति

  माघ १५, २०७७

खलंगा, माघ १४ : जुम्लाको तिला गाउँपालिका–७ स्थित गोठी गाउँमा भीषण आगलागी हुँदा करीब तीन करोडभन्दा बढीको क्षति भएको छ । सो आगलागीबाट ३२ घर जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी युवनकुमार चौधरीले बताउनुभयो ।

सो आगलागी भएका घरबाट करीब ६४ वटा पशुचौपाया जलेर मृत्यु भएको वडाअध्यक्ष हस्त बुढाले बताउनुभयो । सुधारिएको चुलोेको माथिल्लो भागबाट एक घरको छानोमा रहेको घाँसमा आगो सल्किएपछि गाउँभरि फैलिएको वडाध्यक्ष बुढाले बताउनुभयो । आगलागी भएको गाउँमा अहिले नेपाली सेना, नेपाली प्रहरी, सशस्त्र प्रहरी र स्थानीवासीले आगो नियन्त्रणमा लिएको वडाध्यक्ष बुढाले बताउनुयो ।

आगलागी भएको गाउँसम्म पुग्न जिल्ला सदरमुकामबाट करीब चार घण्टा लाग्छ । काठैकाठका घर बढी भएकाले आगलागी बढेको सो गाउँका स्थानीयवासी बताउँछन् । मानवीय क्षति भने भएको छैन । राहतको लागि कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीसँग समन्वय भई प्रदेशबाट केही राहतका सामग्री ल्याएर आउने तयारी रहेको गाउँपालिका अध्यक्ष रतनाथ योगीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया