नागरिक निवृत्तिभरण योजना शुरु

  पुष २७, २०७७

काठमाडौं, पुस २७ : नागरिक लगानी कोषले नागरिक निवृत्तिभरण योजना शुरु गरेको छ । अनलाइनमार्फत नै सो योजनामा सहभागी हुन सकिने भएको छ । सबै नेपालीलाई सहभागी गराउने गरी ल्याइएको योजना भएको हुँदा इन्टरनेट सेवा पुगेका स्थानबाट सहभागी हुन इच्छुकले सजिलै सहभागी हुन सक्ने कोषले जनाएको छ ।

यस योजनामा आयआर्जन गर्ने जोसुकै, प्रचलित कानून बमोजिम स्थापना भएका सङ्घ, संस्था एवं प्रतिष्ठानमा कार्यरत श्रमिक-कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने छन् । योजनामा सहभागी हुने बचतकर्ताले न्यूनतम मासिक रु ५०० देखि अधिकतम आम्दानीको क्षमताअनुसार १० ले भाग जाने सङ्ख्यामा रकम जम्मा गर्न सक्ने छन् ।

बचतकर्ताको आम्दानीको आधारमा मासिक-त्रैमासिक-अर्धवार्षिक-वार्षिक रुपमा पनि रकम जम्मा गर्न सकिने विशेषता रहेको छ । पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर साठी वर्ष पूरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ । बचतकर्ताले १५ वर्ष नपुग्दै रकम फिर्ता लिन चाहेमा वा १५ वर्षपश्चात एकमुष्ठ रकम लिन चाहेमा त्यसको ब्याज र प्रतिफल भुक्तानी लिन सक्नेछन् ।

कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जित रकम एकमुष्ठ रुपमा तोकिएको न्यूनतम किस्ताले हुने गरी सहभागी हुन सक्ने कोषका सूचना अधिकारी उद्धव सिलवालले जानकारी दिनुभयो । सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीबाट प्राप्त प्रतिफल जोडी हुन आउने कूल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना जीवन कालभर पेन्सन पाउन सक्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया