डेढ दशकपछि उही वृत्तमा

  पुष १८, २०७७

सञ्‍जीव उप्रेती

माइतीघर मण्डलामा बृहत् नागरिक समाजको भेलामा सहभागी हुन जाँदा मस्तिष्कमा एउटै कुरा ओहोरदोहोर गरिरहेको छ, ‘कतै इतिहासको पांग्रा उल्टो घुम्दै पुनः २०६२/६३ कै सेरोफेरामा फर्किएको त होइन ?’ त्यसबेला पनि सडकमा आन्दोलनकारीहरूको भीड थियो ।

सडकछेउमा सुरक्षाकर्मीहरूको भ्यान, लौरो, बन्दुक बोकेका सिपाहीहरू र सत्ताको केन्द्रमा एउटा अर्कै तानाशाह ∕२०६२/६३ को आन्दोलन सामाजिक न्याय र लोकतन्त्रको पक्षमा गरिएको आन्दोलन थियो । अधिनायकवादी राजतन्त्रको अन्त्य गर्दै गणतान्त्रिक लोकतन्त्रको स्थापना गर्नु जनआन्दोलनको लक्ष्य थियो ।

नारी, दलित, जनजाति, मधेसीलगायतका सबै सीमान्तकृत समूहहरूको राज्यका संरचनाहरूमा सहभागिता सुनिश्चित गर्ने सामाजिक न्यायको आदर्शसित गाँसिएको लक्ष्य पनि थियो । अहिले डेढ दशकपछि हामी फेरि लोकतन्त्र र सामाजिक न्यायकै पक्ष लिँदै अधिनायकवादको विरोधका निम्ति सडकमा छौँ । इतिहास अगाडि बढ्नु साटो एउटै गोलाकार वृत्तमा घुमिरहेको छ । पात्रहरू फरक छन् तर प्रतिगमनको कथानक उस्तैउस्तै ।

यस कथानकको सार बुझ्न लोकतन्त्र र सामाजिक न्यायका आदर्शहरूबीचको कृत्रिम विभाजन र विरोधाभास छिचोल्नु आवश्यक छ । यस पंक्तिकारको विचारमा उक्त कृत्रिम भाष्यको निर्माण दोस्रो विश्वयुद्धपछि सुरु भएको शीतयुद्धको दौरान भयो । पुँजीवादी पश्चिमी ब्लक र साम्यवादी सोभियत ब्लकबीचको शीतयुद्धको दौरान पश्चिमी मिडिया, रिसर्च इन्स्टिट्युट र गैरसरकारी संस्थाहरूले लोकतन्त्र र उदारवादी पुँजीवाद एकातिर छ तथा साम्यवाद र अधिनायकवाद अर्कोतिर र दुईबीच सदाकालीन संघर्ष चलिरहन्छ भन्ने किसिमको कृत्रिम विरोधाभाषी वैचारिकीको उत्पादन तथा विश्व्यापीकरण गरे ।

यसै किसिमको विचारअन्तर्गत लोकतन्त्र र मानवाधिकारको संकथन उदारवादी पुँजीवादको ‘सफ्ट पावर’ को रूपमा अघि सारिए भने साम्यवादलाइ स्टालिनकालीन अधिनायकवादसित जोडियो । शीतयुद्धको समाप्तिपछि पनि लोकतन्त्र र सामाजिक न्यायबारेको यही पुरानो आउटडेटेड र विरोघाभाषी विचारधारा संसारका प्रायः सबै भागमा अझै चलायमान छ । नेपालकै कुरा गर्दाचाहिँ जनमानसमा प्रायः गरी कांग्रेसीहरू लोकतान्त्रिक हुन् र वामपन्थीहरू सामाजिक न्यायमा विश्वास गर्नेहरू भन्ने किसिमको सामान्य, अति सरलीकृत बुझाइ छ । के यस किसिमको बुझाइ आकाशबाट झरेको नैसर्गिक, अपरिवर्तनशील सत्य हो वा मानवले नै विशेष ऐतिहासिक/आर्थिक/प्राविधिक कालखण्डमा गरेको अस्थायी र अपुरो विश्वदृष्टि ?

लोकतन्त्र आफैंमा अपूर्ण र निरन्तर विकास भइरहने अवधारणा हो । यदि समाजका सबै सीमान्तकृत समूहहरूलाई वास्तविक अर्थमा न्याय उपलब्ध भएन भने उक्त समाजमा लोकतन्त्रको खाली ‘उदारवादी अभिनय’ मात्र चलिरहन्छ । त्यस्तै गरेर समसामयिक विश्वमा लोकतन्त्रबिनाको साम्यवाद वा समाजवादको कल्पना पनि गर्न सकिन्न ।

हो, सोभियत संघमा १९२० को दशकमा र चीन तथा अन्य साम्यवादी कहलिएका राष्ट्रमा बीसौँ शताब्दीको मध्यपछि अधिनायकवादी सत्ता र शासकहरू स्थापित भएको सत्य हो । सामन्तवादलाई ढालेपछि राज्यशक्ति सर्वसाधारण जनतामा हस्तान्तरण हुनुपर्नेमा राज्य–राष्ट्रमा हस्तान्तरित हुन पुग्यो । यसको फलस्वरूप त्यही शक्तिको प्रयोग गर्दै कम्युनिस्ट कहलिएका राज्यहरू आफैं अधिनायकवादी बन्दै गए ।

तर, बुझ्नुपर्ने विषय के छ भने जसरी पुँजीवाद व्यापारिक पुँजीवाद, औद्योगिक पुँजीवाद, एकाधिकार पुँजीवाद र बहुराष्ट्रिय पुँजीवादकाका विभिन्न चरणहरू हुँदै नयाँ–नयाँ स्वरूपमा रूपान्तरित हुँदै गएको छ, त्यसरी नै समाजवादी विचारधारा र अभ्याससमेत साथसाथै परिवर्तित हुँदै जाँदै छ । नयाँ प्रविधिहरूको द्रुत विश्वव्यापीकरणको प्रक्रियाले पुँजीवाद, समाजवाद र साम्यवादबारेका विचार र अभ्यास दुवैलाई थप परिवर्तन गर्दै लैजानेछ । अहिलेको संसार प्राविधिक/वैचारिक परिवर्तनको संघारमा छ । यदि आणविक युद्ध, ग्लोबल वार्मिङका परिणाम र वातावरणको तहसनहसबाट मानव जातिको भविष्यलाई जोगाउनु छ भने मानव समाजहरू लोकतान्त्रिक र न्यायिक दुवै हुनुपर्छ । लोकतन्त्र र सामाजिक न्यायका आदर्श तथा ती दुवै आदर्शसित जोडिएका दैनिक अभ्यास र व्यवहारको संयोजनमार्फत नै हामी समाजवादको मार्गमा समेत उन्मुख हुन सक्छौँ ।

अब फेरि माइतीघर मण्डलामा चलिरहको नागरिक आन्दोलनतिरै फर्कन्छु । जसरी २०६२/६३ को जनआन्दोलनताका डा. देवेन्द्रराज पाण्डे, खगेन्द्र संग्रौला, श्याम क्षेष्ठलगायतका अन्य विचारक, लेखक र अभियन्ताहरू नागरिक समाजको ब्यानरअन्तर्गत लोकतन्त्र र सामाजिक न्यायको पक्षमा सडकमा ओर्लिएका थिए, अहिलेको नागरिक आन्दोलन पनि त्यसकै निरन्तरता हो भन्ने मेरो बुझाइ छ । किनकि २०६२/६३ मा झैँ अहिले फेरि पनि यी दुवै आदर्शको खुला अवज्ञा र अपहेलना गरिएको छ ।

प्रधानमन्त्रीको संसद् विगठनको आदेश असंवैधाानिक र अनैतिक दुवै छ, त्यसैले यो अलोकतान्त्रिक छ । थुप्रै कानुनवेत्ताहरूले संसद् विगठनको कार्य संविधानविपरीत छ भनेर दिएका बयानहरू सार्वजनिक भइसकेकाले यहाँ तिनको पुनरावृत्ति गरिरहनु आवश्यक छैन । संसद् विगठनको आदेश असंवैधानिक हुनुको साथसाथै अनैतिक पनि छ । ६२/६३ को जनआन्दोलनले सार्वभौमिकतालाई दरबारबाट जनतामा हस्तान्तरित गर्‍यो । जनताको प्रतिनिधित्व संसद्को तल्लो तहले नै गर्छ । त्यसैले यसलाई प्रतिनिधिसभा भनिन्छ । उक्त सभालाई विगठन गर्दा जनता के चाहन्छन् भनेर सोध्ने प्रयत्न गरिएन । प्रतिनिधिसभाकै सांसदलाई सोध्नुपर्‍थ्यो– तपाईंहरू संसद् विगठन गर्न चाहनुहुन्छ वा हुन्न ? सांसदहरूलाई सोध्नु भनेको जनता वा तिनका प्रतिनिधिलाई सोध्नु हो । तर, त्यसो गर्नु साटो अधिनायकवादी शैलीमा सीधै प्रतिनिधिसभा विगठन गर्ने ‘आदेश’ पो आयो, जनतामा निहित सार्वभौमिकतालाई पूर्ण रूपले अस्वीकार गर्दै ।

प्रधानमन्त्री ओलीको कदम लोकतन्त्रको आदर्श मात्र नभएर सामाजिक न्यायको आदर्शप्रति पनि उत्तिकै असंवेदनशील छ । हुन त यसमा आश्चर्य मान्नुपर्ने खास कारण देखिँदैन, किनकि खासगरेर सन् २००८ पछि दलित, नारी, जनजाति, मधेसीलगायत संरचनामा तल परेकाहरूको अधिकारलाई कटौती गर्दै लैजाने प्रपञ्च र प्रयासहरू निरन्तर चलिरहेकै छन् । त्यसका लागि केपी ओली मात्र जिम्मेवार छैनन् । माधव नेपाल र प्रचण्डलगायतका कम्युनिस्ट कहलिएका नेताहरू पनि जिम्मेवार छन् । देश प्रतिगमनको बाटोमा लागेका बेला टुलुटुलु हेरिरहने, सबल प्रतिपक्षको भूमिका खेल्न नसक्ने नेपाली कांग्रेस पनि जिम्मेवार छ । अहिले संसद्को विगठन केपी ओलीले गरेको हुनाले नागरिक आन्दोलन उनको आदेशको विरोधमा सडकमा उत्रिएको हो । प्रचण्ड, नेपाल, देउवा वा कुनै पनि व्यक्ति वा राजनीतिक दलको समर्थनका निम्ति उत्रिएको होइन ।

सामाजिक न्यायको दृष्टिकोणबाट विचार गर्दा प्रश्न उठ्छ— के कोरोना महामारीबाट आक्रान्त अहिलेको समय बहुमतको सरकार ढालेर चुनाव गराउने समय हो ? भर्खरै उखु किसानहरूको आन्दोलन टुंगिएको छ । सरकारले २१ दिनभित्रमा किसानहरूले चिनी मिलहरूबाट पाउनुपर्ने रकमको भुक्तानी हुनेछ भनेर गरेको प्रतिबद्धतापछि हाललाई आन्दोलन टुंगिएको हो । यस्ता प्रतिबद्धता विगतमा पनि गरिएका थिए । यसपल्ट पनि पूरा गरिन्छन् वा गरिँदैनन् भनेर हेर्न बाँकी नै छ । यसैबीचमा बैंकले जग्गा लिलाम लागेको अवस्थामा पुसको जाडोमा आन्दोलनका निम्ति मधेसबाट काठमाडौं आएका नारायण राय यादवको हृदयाघातले मृत्यु भयो । योभन्दा दुःखान्त कुरा सभ्य कहलिएको, प्रतिनिधिसभा नै नभएको, चुनावमा जान लालायित हालको ‘पागल’ समाजमा अरू के हुन सक्छ ?

युद्ध, भूकम्प, महामारीजस्ता प्रकोपहरूका दौरान संरचनाको पिँधमा रहेकैहरूको जीवन सबैभन्दा बढी पिल्सिन्छ । रोग–व्याधि, भोकमरी र मानसिक तनावले पनि त्यही समूहका मानिसलाई बढी पिरोल्छ । हो, कोरोनाको प्रभावले अहिले सबैको जीवन पक्कै अस्तव्यस्त भएको छ । तर, इतिहासले देखाएको छ— यस्ता विपत्ति आउँदा सबैभन्दा बढी बिजोग तल्ला वर्गका श्रमिक, गरिब किसान, ज्यालादारी मजदुर र संरचनाको पिँधमा रहेका दलित, नारी र अन्य सीमान्तकृत समूहकै हुने गर्छ । यस्तो अवस्थामा चुनावमा खर्च हुने हरेक रुपैयाँले पिँधमा रहेकाहरूको गाँस, बास, कपास र औषधिमा खर्च हुने बजेटको एकएक रुपैयाँ घटाउनेछ । कोरोना भ्याक्सिनमा खर्च हुनुपर्ने रकम चुनाव दौरान कार्यकर्ताहरूलाई खर्च बाँड्ने काममा प्रयोग हुनेछ ।

यो सबै बिर्सेर अहिले ओली र देउवाजस्ता नेताहरू चुनाव गराउन लालालित भएका देखिन्छन् । आवधिक चुनाव लोकतन्त्रको मेरुदण्ड भएकाले (आवधिक चुनावका आफ्नै समस्या छन् तर त्यो अर्कै छलफलको विषय हो) चुनावबाट पन्छिने वा जनतासामु जान डराउने भन्ने कुरै उठ्दैन । तर, साथसाथै प्रश्न उठ्छ— के महामारीको संक्रमण विकराल बन्दै गएको हालको अवस्थामा नेताहरूको चुनावप्रतिको लालसाले संरचनाको पिँधमा परेकाहरूको पीडालाई बेवास्ता गर्दै सामाजिक न्यायको आदर्शमै प्रहार त गरिरहेको छैन ?

माइतीघर मण्डलामा बृहत् नागरिक आन्दोलनको पहिलो भेलामा भाग लिएर घर फर्किएपछि केही मित्रहरूले फोन गरे, अरूले सामाजिक सञ्जालमार्फत सन्देश पठाए— अहिले ओलीको संसद् विगठनको आदेशको विरोध गर्नु भनेको प्रचण्ड र माघव नेपाललाई समर्थन गर्नु हो । नागरिक समाजले सधैं बीचमा तटस्थ भएर बस्नुपर्छ, कुनै एउटा पक्षको समर्थन गर्नु हुँदैन ।

मित्रहरूका कुरा सुन्दै जाँदा लाग्यो— वास्तवमै इतिहास फेरि दोहोरिन लागेको रहेछ । ६२/६३ को आन्दोलन दौरान यस्तै प्रश्नहरू अन्य धेरै मानिसको मनमा झैँ मेरो मनमा पनि उठेका थिए । यस्तै प्रश्न उठाउँदै मैले कान्तिपुरमा ‘बीचका व्यथा’ शीर्षकमा एउटा लेख पनि लेखेको थिएँ । त्यसबखत लागेको थियो, नागरिक आन्दोलनमा लागेकाहरूले कुनै एक पक्षको सर्मथन नगरी बीचमै बसेर सोच्नुपर्छ, लेख्नु–बोल्नुपर्छ ।

अहिले आएर लाग्दै छ, मेरो त्यसबेलाको विचार अपूर्ण रहेछ । हो, पुँजीवाद (थेसिस) र साम्यवाद (एन्टी थेसिस) बीचको बल–प्रतिबल र घर्षणबीचकै धरातलमा हुन्छ भन्ने कुरा सत्य हो । उक्त घर्षणमार्फत उदाउने समाजवादका स्वरूप तथा अभ्यासहरूसमेत बीचमै घटित हुने मामिला हुन् । नागरिक समाज कुनै पनि नेता वा राजनीतिक दलको पछि लाग्नु हुँदैन भन्ने कुरा पनि सत्य हो । यी विचारहरूसित म अझै सहमत छु । तर कुनै व्यक्ति, नेता, समूह वा विशेष राजनीतिक दलप्रति तटस्थ रहे पनि लोकतन्त्र, सामाजिक न्याय, मानवाधिकार र समाजवादजस्ता आदर्शप्रति तटस्थ रहन सकिँदैन । रहनु पनि हुँदैन ।

लोकतन्त्र र अधिनायकवाद वा सामाजिक न्याय र अन्यायबीच संघर्ष हुँदा तटस्थ भएर बस्नु भनेको अधिनायकवादलाई समर्थन गर्नु हो, अन्यायलाई सघाउनु हो । नागरिक आन्दोलनमा लागेकाहरूको काम न्याय र अन्यायबीचको संघर्षका दौरान बीचमा बसेर रेफ्रीले जस्तो सिटी बजाइरहनु होइन । तिनको काम अधिनायकवादलाई अधिनायकवाद र अन्यायलाई अन्यायकै रूपमा पहिचान गरेर न्याय र लोकतन्त्र दुवैका पक्षमा लगातार संघर्ष गरिरहनु हो । ६२/६३ को आन्दोलन दौरान स्वतःस्फूर्त रूपमा जागेको नागरिक समाज यी दुवै आदर्शका पक्षमा संगठित भएको थियो । अहिलेको नागरिक आन्दोलन पनि यी दुवै (विरोधाभासी नभएर एकअर्कार्का परिपूरक) आदर्शहरूकै पक्षमा छ । (इकान्तिपुर अनलाइन)

तपाईको प्रतिक्रिया