काठमाडौं, असोज १७ : युरोपियन युनियन (इयु) ले नेपालको हवाई सुरक्षा सुदृढीकरणका लागि प्राविधिक सहयोग गर्ने प्रस्ताव गरेको छ ।
नेपालको नागरिक उड्डयन प्राधिकरणका हवाई सुरक्षाका कदमलाई थप प्रभावकारी बनाउन प्राविधिक सहयोग गर्न इच्छुक रहेको भन्दै इयुले यस्तो प्रस्ताव गरेको हो ।
शुक्रबार साँझ सम्पन्न नेपाल र युरोपियन युनियनको १२ औं संयुक्त आयोगको बैठकमार्फत उक्त जानकारी गराइएको हो । नेपाली पक्षले भने हवाई सुधारका लागि चालेका आबश्यक कदमबारे इयुलाई प्रस्ट्याएको थियो ।
हवाई उडानलाई थप सुरक्षित तथा व्यवस्थित बनाउन सरकारले नेपाल हवाई सेवा प्राधिकरणको स्थापना थालेको छ । उक्त प्राधिकरण सम्बन्धी विधेयक समेत संसदमा दर्ता गराइसकेको छ ।
उक्त विधेयक राष्ट्रिय सभामा विचाराधीन अबस्थामा छ । सो विधेयक संसदको हिउँदे अधिवेशनबाट पारित गर्ने सरकारको तयारी रहेको बताइएको छ ।
शुक्रबारको बैठकमा इयुले पनि सरकारको यो कदमलाई सकारात्मक भएको टिप्पणी गरेको छ ।
सुरक्षाको कारण देखाउँदै युरोपियन कमिसनले इयुका २८ वटा मुलुकमा विगत एक दशकदेखि नेपालका एयरलाइन्स उडानमा प्रतिवन्ध लगाइएको छ । अन्तर्राष्ट्रिय उड्डयन प्राधिकरणले भने सन् २०१७ मा नै नेपाललाई कालोसूचीबाट हटाएको छ ।






