नेपालगञ्ज, असोज १५ : बाँकेमा कोरोनाबाट भेरी अस्पतालका वरिष्ठ चिकित्सक डा. हरि सापकोटाको मृत्यु भएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमवांगका अनुसार कोरोना संक्रमितको उपचारमा खटिनुभएका भेरी अस्पतालका वरिष्ठ चिकित्सक डा। सापकोटाको कोरोनाकै कारण विहीबार दिउँसो मृत्यु भएको हो ।
प्रजिअ कुरुमवांगले संक्रमित भएपछि भेरी विशेष कोरोना अस्पतालमा उपचार भैरहेकोमा सापकोटाको मृत्यु भएको बताउनुभयो ।
डा। सापकोटासंगै बाँकेमा विहिबार एकै दिन तीन जनाको मृत्यु भएको छ । यसअघि विहीबार विहान नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दुई जना संक्रमितको मृत्यु भएको थियो ।
विहान कोरोनाबाट निधन हुनेहरुमा नेपालगञ्ज उपमहानगरपालिका–४ का ५२ बर्षीय पुरुष र सुर्खेत भेरीगंगा नगरपालिका–८ का ७५ बर्षीया महिला रहनु भएको थियो ।
चिकित्सकसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ भने अन्य जिल्लाबाट आएर भर्ना भएर उपचारका क्रममा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार बाँकेमा हालसम्म १ हजार ९१३ जना संक्रमित भेटिएकोमा १ हजार ५४२ जना निको भएर घर फर्किसक्नु भएको छ भने ३५४ जनाको अझै विभिन्न आइसोलेसनमा उपचार भैरहेको छ ।
ती मध्ये १८ जनाको मृत्यु समेत भएको सो कार्यालयले जनाएको छ ।






