विश्व शान्ति र विकासका लागि दृढशक्ति निर्माणमा चीन

  असोज १५, २०७७

हउ याङ्छी

यो वर्ष जनवादी गणतन्त्र चीन स्थापना भएको ७१ वर्ष पूरा भएको छ । ७१ वर्षमा विश्वको जनसङ्ख्याको पाँच भागको एक भएको प्राचीन देश चीन– अति गरिब, अति कमजोर अवस्थाबाट अघि बढेर क्रमशः मानव जातिको इतिहासमा विकासको चमत्कार देखाउँदै विश्वमा शान्ति, स्थिरता र समृद्धिको रक्षा गर्ने महत्ववपूर्ण शक्ति बनेको छ ।

आज चीनको अर्थतन्त्र विश्वको दोस्रो बनेको छ र त्यसले विश्व अर्थतन्त्रको करिब १५ प्रतिशत भाग ओगटेको छ । सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कटपछि विश्व अर्थतन्त्रको अभिवृद्धिमा धेरै वर्षदेखि लगातार करिब ३० प्रतिशत योगदान पु-याई चीन विश्वको आर्थिक विकासको शक्ति स्रोत बनेको छ ।

विकासको प्रक्रियामा चीनले पहिलेदेखि नै “स्वच्छ पानी, हरिया पहाड नै सुनका पहाड, धनका पहाड हुन्’’ भन्ने वातावरण रक्षाको अवधारणाको अनुशरण गर्दै आइरहेको छ । आफ्नो देश विकासको अवस्था र यथार्थ परिस्थिति अनुकूल अन्तर्राष्ट्रिय जिम्मेदारी वहन गर्न सक्रिय छ र हावापानी परिवर्तनलाई सम्बोधन गर्न विभिन्न नीतिगत निर्णयहरू गरेको छ । सन् २०१९ मा चीनको कार्बन इन्टेन्सिटी सन् २००५ को तुलनामा करिब ४८.१ प्रतिशत घटेको छ । यो भनेको कार्बनडाइअक्साइड पाँच अर्ब २० करोड टन कम उत्पादन हुनु हो । यसरी चीनले सन् २०२० मा पूरा गर्नेगरी राखेको लक्ष्य एक वर्षअगावै पूरा गरेको छ ।

गरिबी घटाई जनताको जीवनस्तर उकास्नु चीन सरकारको महŒवपूर्ण लक्ष्य हो । विगत ४० वर्षमा चीनले आफ्नो ८५ करोड जनतालाई गरिबीको रेखामुनिबाट माथि उकासी विश्वव्यापी गरिबी निवारणमा ७० प्रतिशतभन्दा बढी योगदान पु-याएको छ । चीनले अरू विकासशील देशहरूसँग गरिबी निवारणको आफ्नो अनुभव बाँडी विगत पाँच वर्षमा विकासशील देशहरूका लागि १८० वटा गरिबी निवारणका परियोजनाहरू प्रदान गरेको छ ।

यस वर्ष सम्पूर्ण ग्रामीण जनताको वर्तमान मानकअनुसार गरिबी निवारण गरी पूर्वनिर्धारित समयमै मध्यमस्तरीय आययुक्त समाजको सम्पूर्ण रूपमा निर्माण गरी “संयुक्त राष्ट्रसङ्घ २०३० दिगो विकासको एजेन्डा’’ अनुसार गरिबी निवारणको लक्ष्य दस वर्षअघि नै पूरा गर्ने चीनको आत्मविश्वास रहेको छ । विश्वका विभिन्न देशहरूबीच सहकार्यको प्रवद्र्धन गर्न चिनियाँ राष्ट्रपति सी चिन फिङले सन् २०१३ मा “पेल्ट (बेल्ट) र रोड’’ विकास प्रस्तावना अघि सार्नुभएको थियो ।

अहिलेसम्ममा चीनले विश्वका १३८ देश र ३० अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूसँग दुई सयवटा भन्दा बढी “पेल्ट र रोड’’ सहकार्य सम्झौतापत्रहरूमा हस्ताक्षर गरिसकेको छ । हामीले नेपाललगायतका “पेल्ट र रोड’’मा पर्ने देशहरूसँग आर्थिक व्यापारिक सहकार्य बढाई, कनेक्टिभिटीमा सुधार गरी विभिन्न देशका जनतालाई सुख, समृद्धि प्रदान गर्ने प्रयास गरेका छौँ ।

७१ वर्षदेखि चीनले विश्वव्यापी विकासमा योगदानमात्र पु-याएको छैन, विश्व शान्ति कायम गर्न र विश्व शान्तिको व्यवस्थाको रक्षा गर्न पनि प्रयास गर्दै आइरहेको छ । अहिलेसम्म शान्ति सुरक्षा कायम गर्ने ३० वटाभन्दा बढी अन्तर्राष्ट्रिय मिसनहरूमा चीन सहभागी भएको छ र चीनले ४० हजारभन्दा बढी शान्तिसेना पठाइसकेको छ ।

अहिले चीनले पठाएको शान्तिसेनाको सङ्ख्या संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का स्थायी सदस्य देशहरूमध्ये सबैभन्दा बढी रहेको छ । चीन विश्वका प्रायः सबै सरकारस्तरीय साधारण अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूको सदस्य रहेको छ । चीनले पाँच सयवटा भन्दा बढी अन्तर्राष्ट्रिय सन्धिहरूमा हस्ताक्षर गरी अन्तर्राष्ट्रिय दायित्व र आफूले गरेका अन्तर्राष्ट्रिय वाचाहरू इमानदारीपूर्वक पूरा गरिरहेको छ ।

अकस्मात् अप्रत्यासित रूपमा देखापरेको कोभिड महामारीको नियन्त्रणका लागि चीनले अति विशेष उपायहरू अपनाएको थियो, फलस्वरूप छोटो समयावधिमै महामारी नियन्त्रित भयो । जनजीवन र आर्थिक उत्पादन पुनः प्रारम्भ गरी महामारीपछि आर्थिक वृद्धि पुनर्बहाली गर्ने चीन पहिलो देश बनेको छ । यसैबीच, चीनले विश्व स्वास्थ्य सङ्घलाई पाँच करोड अमेरिकी डलरको नगद सहयोग र विश्वका १५० भन्दा बढी देश र अन्तर्राष्ट्रिय संस्थाहरूलाई स्वास्थ्य सामग्री र प्राविधिक ज्ञान अनुभव प्रदान गरेको छ ।

चीनले कोभिडको रोकथाम खोपको अनुसन्धान इमानदारीपूर्वक पूरा गरी त्यसलाई प्रयोगमा ल्याउन थालेपछि विश्वभर सार्वजनिक उत्पादन बनाउने, जी २० का सदस्य देशहरूसँग मिलेर “सबैभन्दा गरिब देशहरूको विलम्बित ऋण चुक्ताका लागि पहल गर्ने’’ आदि महŒवपूर्ण कदम चाली मानव जातिको साझा स्वास्थ्यसम्बन्धी समष्टिको निर्माणमा महŒवपूर्ण योगदान पु-याउनेछ ।

अहिले विश्वमा सयौँ वर्षमा नहुने परिवर्तन हुँदै छ । कोभिडको विश्वव्यापी महामारीले यस विशाल परिवर्तनलाई अझ तीव्र बनाइदिएको छ । चिनियाँ राष्ट्रपति सी चिन फिङले भन्नुभएजस्तै यस महामारीले विश्वव्यापी शासन व्यवस्थामा भएका असङ्गतिहरूलाई ठूलो बनाई तिनीहरूलाई अविलम्ब सुधार गर्नुपर्ने कुरालाई औँल्याइदिएको छ । चीन सधैँ बहुलवादको बाटोमा हिँडिरहनेछ र चीनले संयुक्त राष्ट्रसङ्घ केन्द्रमा रहेको अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षा गर्नेछ ।

नयाँ परिस्थितिमा चीनले एक ठूलो देशले गर्नुपर्ने जिम्मेवारी वहन गरिरहनेछ, एक ठूलो देशले गर्नुपर्ने योगदान गरिरहनेछ र विश्वव्यापी रूपमा सार्वजनिक उत्पादनहरू प्रदान गरिरहनेछ । चीनले नेपाललगायतका विश्वका सबै देशहरूका साथ बहुलवादको पक्षमा दृढ रही, शान्ति, विकास, न्याय, सत्य, प्रजातन्त्र, स्वतन्त्रता आदि मानव जातिका साझा मूल्य–मान्यताहरूलाई सर्वोपरि मानेर सक्रिय रूपमा मानव जातिको साझा भाग्यको समष्टि तथा आपसी सम्मान, न्याय, सत्य, सहकार्य, सर्वपक्षीय जितको नवीन अन्तर्राष्ट्रिय सम्बन्धको निर्माण गरी विश्व शान्ति र विकासको कार्यमा नयाँ ऊर्जा थप्नेछ ।
(नेपालका लागि चीनका राजदूत हउ याङ्छीको यो लेख गोरखापत्र अनलाइनबाट लिइएको हो ।)

तपाईको प्रतिक्रिया