वन्यजन्तु उद्धारका लागि ‘डार्टिङ’सहितको एम्बुलेन्स

  भदौ ०८, २०७७

पोखरा, भाद्र ८ : कास्कीमा वन्यजन्तु उद्धारका लागि ‘डार्टिङ’ (सुई हानेर बेहोस बनाउने विधि) सहितको एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । पोखरा आसपास घाइते तथा बेवारिसे अवस्थामा फेला परेका वन्यजन्तुलाई उद्धार गरेर सहजै बासस्थान पुर्याउन र समयै उपचार गर्नका लागि छुट्टै एम्बुलेन्स सञ्चालनमा ल्याइएको डिभिजन प्रमुख रामकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय कास्कीले ४६ लाख १० हजार रुपियाँ लागतमा एम्बुलेन्स असारदेखि सञ्चालनमा ल्याएको बताउँदै उहाँले हालसम्म वन बिरालो, चितुवाको बच्चा, उल्लु, चिललगायत १२ वटा वन्यजन्तुको उद्धार गरिएको जानकारी गराउनुभयो । श्रेष्ठ भन्नुहुन्छ, ‘विभिन्न कारणले बासस्थानबाहिर आएका वन्यजन्तुको उद्धार संरक्षणको लागि डिभिजन वन कार्यालय कास्कीले छुट्टै एम्बुलेन्स सञ्चालनमा ल्याएको हाे । उद्धार गरी पोखरा वडा नं ३१ पचभैया वन्यजन्तु उद्धार केन्द्रमा लान्छौँ । केहीलाई आसपासका जङ्गलमा छोड्ने गरेका छौँ ।’

उहाँका अनुसार बढी मात्रामा चितुवा शहरी क्षेत्रका घरमा छिर्ने र क्षति पुर्याउने भएकाले प्रमुख प्राथमिकतामा रहेको बताउनुभयो । चितुवालाई बेहोस गराएर मात्र उद्धार गर्न सकिने भएकाले छुट्टै एम्बुलेन्सको व्यवस्था नहुँदा समस्या पर्ने गरेकाेमा अब समस्या नहुने उहाँको भनाइ छ । गत आर्थिक वर्षमा प्रदेश सरकारले वन्यजन्तु उद्धार केन्द्र तथा पार्क निर्माणका लागि डेढ करोड बजेट विनियोजन गरेको थियो । उक्त एम्बुलेन्स सञ्चालनको जिम्मा पचभैयास्थित वनजन्य उद्धार केन्द्रलाई दिने तयारी भएको उहाँको भनाइ छ ।

श्रेष्ठले उद्धारका लागि डार्टिङसहितको टोली तयार गर्ने योजना रहेको बताउनुभयो । डार्टिङसहितको १७ जनाको दरबन्दी रहे पनि हाल तीन जना कर्मचारी मात्र रहेको बताउनुभयो । बन्दाबन्दीको कारण डार्टिङ गन र औषधि भने नआइपुगेको उहाँको भनाइ छ । डेनर्माक र साउथ अफ्रिकाबाट ल्याउनुपर्ने भएकाेले समय लागेकाे बताउनुभयाे । डार्टिङसहितकाे उक्त एम्बुलेन्स काठमाडाैँ र चितवनपछि गण्डकी प्रदेशमा पहिलो भएको बताउनुभयो ।

पचभैया जुओलोजिक पार्कका संयोजक हिमालय बख्रेलले छुट्टै एम्बुलेन्स सञ्चालन भएपछि अब उद्धारमा सहज हुने बताउनुभयो । उहाँले पार्कमा हाल ४० वटा वन्यजन्तु रहेको जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया