बागलुङ, भदौ ६ : बन्दाबन्दीकै अवस्थामा निर्माण कार्य सम्पन्न भएको बागलुङ– पर्वत जोड्ने विश्वकै लामो दावी गरिएका झोलुङ्गे पुल नियमित संचालनमा नआउँदै पुनः मर्मत गर्न थालिएको छ ।
पुल साउन १६ गते सर्वसाधारणको लागि खुला गरिएको थियो । कालीगण्डकी नदीमाथि निर्माण गरिएको ५ सय ६७ मिटर लामो पुल तर्ने क्रममा अत्याधिक हल्लिएको गुनासोपछि थप बलियो बनाउन थालिएको हो ।
झोलुङ्गे पुल तर्नको लागि खुला गरेपछि पुल अवलोकन तथा ओहोर दोहोर गर्नेहरुको दैनिक भिड लाग्न थालेको थियो । पुलको दुवै पट्टीको भाग अत्याधिक हल्लिएर सर्वसाधारणले गुनासो गरेका थिए ।
जनगुनासो अनुसार पुलको दुवै पट्टीको दायाँ बायाँ ६-६ वटा गरी कुल २४ वटा साईड लठ्ठा बाँध्न सुरु गरेको निर्माण कम्पनीका ठेकेदार नरहरी खडकाले जानकारी दिनुभयो । बागलुङ नगर क्षेत्रमा निषेधाज्ञा जारी भएको अवस्थामा मर्मतको धमाधम भैरहेको उहाँले बताउनुभयो ।
थानी÷बिएलटि÷हिमशिखर जेवी निर्माण कम्पनीले २०७५ साल चैत्रबाट निर्माणको काम सुरु गरेको थियो । पुल निर्माणको जिम्मेवारी लिएको कम्पनीले सम्झौता अवधि भन्दा तीन महिना अघि गत बैशाख महिनामा निर्माण कार्य सम्पन्न गरेको थियो । पुल निर्माणको सम्झौता अवधी २०७७ असार मसान्तसम्म रहेको थियो ।
‘यति लामो पुल पहिलो पटक निर्माण गरेको हो’ ठेकेदार खडकाले भन्नुभयो थप लठठाले पुल कस्दा पनि पनि पुल हल्लि रह्यो भने डिजाईनर बोलाएर सुधार गछौँ ।’ झोलुङ्गे पुल निर्माण भए पछि बागलुङ–पर्वत जाने एक घण्टा बढीको यात्रा करिव दश मिनेटमा छोटिएको छ ।
पुल बलियो भएपछि मात्र स्थानीय तहलाई पुल हस्तान्तण गर्ने ठेकेदार खड्काले बताउनुभयो । पुलले एकसाथ ६१२ अर्थात ८५ मेट्रिकटन लोड धान्न सक्छ ।