राष्ट्रिय सभाका विषयगत समितिमा ‘सभापति’ सर्वसम्मत

  साउन २२, २०७७

काठमाडौं, साउन २२ : राष्ट्रिय सभाका विषयगत चार समितिमा निर्वाचन प्रक्रिया शुरुहुँदा चारजना पुरानै सभापतिको उम्मेदवारी दर्ता भएको छ । साँझ ४ बजेको अन्तिम नामावली प्रकाशन हुँदा चार जनाको नाममा मात्र उम्मेदवारी दर्ता हुँदा उहाँहरु सभापतिमा सर्वसम्मत हुने निश्चित भएको हो ।

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालका अनुसार शुक्रबार १ बजे सभापतिहरुको सर्वसम्मत नाम घोषणा हुनेछ । राष्ट्रिय सभा नियमावली २०७५ को नियम १५० को उपनियम (२) बमोजिम सभापतिहरुको आज उम्मेदवारी दर्ता भएको हो ।

यसअघि पनि चारवटै विषयगत समितिको सभापतिको जिम्मेवारीमा उहाँहरु नै हुनुहुन्थ्यो । चार समितिमध्ये विधायन व्यवस्थापन समितिको सभापतिमा परशुमेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी, राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) र दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्टको उम्मेदवारी परेको छ ।

चार समितिका सभापतिमध्ये तीन सभापति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद हुनुहुन्छ । भट्ट मात्र प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्नुहुन्छ । सभापति गुरुङको प्रस्तावकमा देवेन्द्र दाहाल र समर्थकमा तारामान स्वार हुनुहुन्छ । त्यस्तै, सभापति विडारीको प्रस्ताव र समर्थकमा क्रमशः राधेश्याम अधिकारी र शेरबहादुर कुँवर हुनुहुन्छ ।

सोहीअनुसार सभापति रावलको प्रस्ताव र समर्थकमा खिमलाल भट्टराई र अनिता देवकोटा हुनुहुन्छ भने सभापति भट्टको प्रस्तावक र समर्थकमा दिनानाथ शर्मा र रमेशजङ्ग रायमाझी रहनुभएको छ । एउटा समितिको सभापतिमा एकजना उम्मेदवारको मात्र उम्मेदवारी परेकाले भोलि शुक्रबार दिउँसो १ बजे हुने निर्वाचन प्रक्रियाअनुसार सभापतिको नामावली घोषणा हुने सचिव फुँयालले बताउनुभयो । 

तपाईको प्रतिक्रिया