काठमाडौँ, १२ भदौ : “नेपाल बाढीपहिरोले पीडामा छ । कृपया आआफ्नो ठाउँबाट जति सकिन्छ सहयोग गर्नुहोला”, शुक्रबार रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित दर्ता गरेपछि नेपाली मिक्स मार्सल आट्र्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले भने ।
रिङमा प्रतिस्पर्धीविरुद्ध जित हासिल गरेपछि उनले आफ्नो सफलताको खुसीभन्दा पहिले विपद्मा परेका नेपालीको पीडा सम्झिए । उनले अगाडि थपे, “हामी उठ्नेछौँ । शिर उठाऔँ नेपालीहरू ।”
देश शोकको परिस्थितिबाट गुज्रिरहेका बेला रवीन्द्रले आफ्नो जितलाई नेपाली जनताका नाममा समर्पित गरे । उनले भनेझैँ ताजा अवस्थामा देश बुधबार गएको विनासकारी भोटेकोशी बाढीका कारण शोकमा छ । सयौँको ज्यान लिएको यस बाढीका कारण देश शोकमा छ । यस अवस्थामा रवीन्द्रले ऐतिहासिक जित दिलाउँदै केही आशाको किरण जगाएका छन् ।
यस्तो कठिन समयमा देशका लागि खुसीको खबर ल्याउने हरेक सफलता र एकअर्कालाई सहयोग गर्न गरिएको अपिलले आशा जोगाइराख्न महत्त्वपूर्ण भूमिका खेल्छ । रवीन्द्रको आजको जित पनि त्यही आशाको प्रतीक बन्न सक्छ ।
ढाँटको अर्को इतिहास
रवीन्द्रले आज चीनको साङ्घाइस्थित अक्टागनमा न्युजिल्यान्डका एमएमए फाइटर कासिब मर्डोकलाई हराउँदै रोड टु युएफसी सिजन–५ को फाइनलमा स्थान बनाए । मिक्स मार्सल आट्र्सको इतिहासमा यो उपलब्धि गर्ने रवीन्द्र पहिलो नेपाली फाइटर बनेका छन् ।
लगातारको सफलतासँगै उनले प्रतिष्ठित एमएमए संस्था युएफसीमा छनोट हुने चरण नजिक पुगेका छन् । अब फाइनल जित्न सके रवीन्द्रको युएफसी सपना साकार हुनेछ । उनले सेमिफाइनल प्रतिस्पर्धामा कासिबविरुद्ध उत्कृष्ट खेल कौसल देखाए । सुरुआती दुई राउन्डमा अपेक्षाकृत खेल देखाउन नसके पनि रवीन्द्रले अन्तिम तथा तेस्रो राउन्डमा भने सानदार पुनरागमन गरे । यस राउन्डमा उनले कासिबविरुद्ध उत्कृष्ट प्रतिस्पर्धा गरे । रवीन्द्रको सानदार प्रहारले तेस्रो राउन्डमा कासिबले लय गुमाए ।
रवीन्द्रले अब युएफसी प्रवेशका लागि जापानका रियो ताजिमालाई हराउनुपर्नेछ । फाइनल खेलको मिति सार्वजनिक हुन बाँकी छ । यदि त्यो प्रतिस्पर्धा जितेमा रवीन्द्र युएफसीमा प्रवेश पाउने पहिलो नेपाली फाइटर बन्नेछन् ।
पाँच खेलयता अपराजित छन् रवीन्द्र
रवीन्द्र ढाँटले हालसम्म १२ खेलमा प्रतिस्पर्धा गरेका छन् । जसमा उनले ११ खेलमा जित निकालेका छन् । रवीन्द्रले सन् २०२४ यता अपराजित छन् । उनले २०२३ को डिसेम्बरमा पाकिस्तानका इस्माइल खानसँग मात्र पराजय व्यहोरेका थिए । त्यसयता रवीन्द्रले रिङमा प्रभावशाली प्रदर्शन गरिरहेका छन् ।
गत वर्ष भारतमा आयोजना भएको म्याट्रिक्स फाइट नाइट–१७ को उपाधि जितेपछि उनले थप चर्चा पाए । त्यस प्रतिस्पर्धामा रवीन्द्रले भारतीय फाइटर चुनरेङ कोरेनलाई तेस्रो चरणमा नकआउट गरेका थिए ।
रवीन्द्रले गत मे महिनामा रोड टु युएफसी सिजन–५ को क्वार्टरफाइनलमा पनि सहजै जित दर्ता गरेका थिए । मकाउमा आयोजित उक्त प्रतिस्पर्धामा उनले फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमै नकआउट गरेका थिए ।
आफ्नो जितयात्रा जारी राख्दै रवीन्द्रले आज सेमिफाइनलमा कासिब मर्डोकलाई हराउँदै अर्को इतिहास रचे । उनको यो जितसँगै मर्डोकले एमएमए करिआरमा पहिलो पराजय व्यहोरेका छन् । रवीन्द्रसँग प्रतिस्पर्धा गर्नुअघि उनले आठ खेल खेल्दा पराजय व्यहोरेका थिएनन् । तर, रवीन्द्रविरुद्धको प्रतिस्पर्धापछि मर्डोकको जित यात्रामा पूर्णविराम लागेको राससमा उल्लेख छ ।






