सप्तरी जिल्लामा मंगलबार विहानदेखि सात दिने निषेधाज्ञा जारी

  साउन १९, २०७७

राजविराज, साउन १९ : जिल्ला सुरक्षा समिति सप्तरीले जिल्लाभरी सात दिनको लागि निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले भोली मंगलबार विहान ५ बजेदेखि २६ गते साँझ ५ बजेसम्मको लागि निषेधाज्ञा आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बैठकपछि जारी गरेको निषेधाज्ञामा हालसम्म ५३१ जना सङ्क्रमितको संख्या पुगेको र सङ्क्रमितमध्ये राजविराज नगरपालिकामा एक जनाको मृत्यु समेत भइसकेको अवस्थामा सजगता अपनाउन, संक्रमणको बिस्तारलाई रोक्न, तथा चेतनामूलक र प्रबन्धनात्मक कार्यहरु आवश्यक रहेको भन्दै कोभिड–१९ को संक्रमणको प्रभावकारी रोकथाम तथा नियनत्रणको लागि अत्यावश्यक कार्य बाहेक कार्य नगर्न निषेधाज्ञा आदेश जारी गरिएको बताइएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन २०२० को दफा २ वमोजिम राजविराज नगरसहित जिल्लाभरी निषेधज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीको निषेधज्ञा आदेशमा भनिएको छ ।

निषेधाज्ञा आदेशमा औषधि पसल, खाद्यान्न, फुलफुल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र संचालन सम्वन्धि सेवा र मालसमान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, संचार सेवा, बैंकिङ्ग सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी संचालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डार र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन वर्कशप जस्ता अत्यावश्यक सेवाहरु बाहेक अन्य सेवा÷स्थलहरुमा अनावश्यक आवत जावत, हिडडुल नगर्न/नगराउन भनिएको छ ।

आदेशको उल्लंघन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारवाही गरिने व्यहोरा सूचित गर्दै उल्लेखित सेवा अन्तर्गतका कार्यहरु समेत तोकिए बमोजिमका स्वास्थ्य सुरक्षा सतर्कता सम्बन्धी मापदण्डहरुको पूर्णपालन हुने गरी मात्र गर्न गराउन सचेत गराइएको छ । सो नमानेमा प्रचलित ऐन, नियम कानुन वमोजिम कारबाही हुने उल्लेख छ ।

तपाईको प्रतिक्रिया