तङ्ग्रिँदै पूर्वका पर्यटकीय स्थल

  साउन १७, २०७७

झापा, साउन १७ : चार महिना लामो बन्द भएको पर्यटकीय तथा धार्मिक स्थलका ढोका बिस्तारै खुल्न थालेका छन् । सरकारले बन्दाबन्दी खुकुलो बनाउने घोषणा गरेसँगै जिल्लाका पर्यटकीय तथा धार्मिक स्थलमा बिस्तारै चहलपहल सुरु भएको छ ।

कोरोना भइरस (कोभिड–१९) का कारण गत चैतदेखि घरमा थुनिएका सर्वसाधारण मनोरञ्जनका लागि विस्तारै पर्यटकीय स्थलमा पुग्न थालेका छन् । जिल्लाको शिवसतासी नगरपालिका–१० स्थित दोमुखा पर्यटकीय स्थलको बन्द ढोका यसै सातादेखि औपचारिक रूपमा खुलेको छ । यस्तै सोही नगरपालिका–११ स्थित सताक्षी धाममा समेत धार्मिक भक्तजनको उपस्थिति बाक्लिन थालेको छ ।

त्यस्तै कन्काई नगरपालिकाको जामुनखाडी सीमसार क्षेत्रसमेत खुल्ने तयारीमा रहेको छ । सोही नपामा निजी लगानीको ह्याप्पी ल्यान्ड पार्कसमेत खोल्ने तयारीमा पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मुख्य सिजन चैत वैशाखमा नै बन्द गरिएका ढोका अहिले विस्तारै बढी भीडभाड नहुनेगरी खोल्न थालिएको दोमुखा धार्मिक तथा पर्यटन संस्थाका अध्यक्ष धनप्रसाद लिम्बुले बताउनुभयो ।

सरकारले १५ गतेदेखि खोल्ने निर्णय गरे पनि स्थानीय स्तरमा कोरोना भइरस बढिरहेकाले तुरुन्तै खोल्न नसकिएको कनकाई–२ स्थित जामुनखाडी सीमसार तथा पर्यटकीय क्षेत्र समितिका अध्यक्ष खेमराज सिटौलाले बताउनुभयो । साउनभरि सङ्क्रमणको अवस्था विचार गरेर भदौ १ गतेदेखि खोल्ने तयारी भइरहेको छ ।

सङ्क्रमणको विश्वव्यापी मापदण्ड पूरा गरेर आगामी महिनादेखि खोलिने छ । मुख्य पर्यटक आउने समयमा नै सङ्क्रमणले चार महिनासम्म बन्द भएका पर्यटकीय स्थल आसपासका होटलसमेत पूर्ण रूपमा नै बन्द रहे । जामुखाडीस्थित सिद्धार्थ होटलका प्रोपाइटर भीमबहादुर मगरका अनुसार ४ महिना त होेटल पूर्ण रूपमा बन्द गरेर घरमा गएर बस्यौ । यसैबीचमा सरकारले खुलाउने निर्णय भए पनि सबै स्थिति सहज नभएको उहाँको भनाइ छ ।

यता शिवसताक्षी धाममा समेत बिस्तारै भक्तजन आउन थालेको शिवसताक्षी धाम विकास समितिका अध्यक्ष प्रसाद सुब्बाले बताउनुभयो । यो बीचमा धार्मिक स्थलको भौतिक विकासको काम सम्पन्न गरियो । धार्मिक क्षेत्रमा टायल बिछ्याउने, ढल, भवन लगायत निर्माण सम्पन्न भएको छ । अब सावधानीपूर्वक सञ्चालन गरिने जानकारी दिनुभयो । यस्तै अन्य क्षेत्रसमेत बिस्तारै खुल्ने तयारीमा रहेका छन् ।

यसरी मनोरञ्जन स्थल खुल्न थालेपछि घरमा थुनिएर बसेका सर्वसाधारण बिस्तारै पार्क र धार्मिक स्थलमा रमाउन थालेका छन् । अहिलै दैनिक एक दुई सय मानिस आउन थालेको दोमुखा पर्यटन संस्थाले जनाएको छ । सङ्क्रमणले थलापरेका धार्मिक तथा पर्यटीय स्थल सरकारको निर्णयले तङ्गिँ्रदै गएका छन् । यसमा सङ्क्रमणको उच्च जोखिम रहने भएकाले होसियार रहनुपर्ने चुनौती रहेको छ ।

तपाईको प्रतिक्रिया