विगत २४ घण्टामा ११ को मृत्यु, शनिबारसम्म मनसुन सक्रिय रहने

  साउन १५, २०७७

काठमाडौँ, साउन १५ : देशभर मनसुनी वायुको प्रभाव रहेको र पूर्वी तराई भू–भागनजिकै मनसुनी न्यून चापीय प्रभाव रहेकाले देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसमविद् प्रतिभा मानन्धरले देशभर सामान्य बदली रही धेरै स्थानहरूका हल्का तथा मध्यम वर्षा हुने सम्भावना रहेको बताउनुभएको छ । प्रदेश नं ५ र सुदुरपश्चिमहरूको थोरै स्थानहरू र प्रदेश १, प्रदेश २ र बागमती, गण्डकीका केही स्थानमा बिहीबार भारी वर्षा हुने सम्भावना रहेको बताउनुभयो । यो क्रम शनिबारसम्म रहने उहाँले बताउनुभयो ।

काठमाडौँ वरपरसमेत यसको प्रभाव रहेकाले सामान्य र हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद् मानन्धरले भन्नुभयो । बिहीबार दिउँसो काठमाडौँमा धुम्म भएको र केही स्थानहरूमा हल्का वर्षा भएको मानन्धरले बताउनुभयो । साउन १६ गते शुक्रबार दिउँसो हल्का र मध्यम वर्षा हुने र रातिको समयमा प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश ५ का केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । शनिबारसमेत वर्षाको सम्भावना रहेको छ ।

पश्चिममा धेरै वर्षा, २४ घन्टामा ११ को मृत्यु
पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न १३ स्थानमा पहिरो गएको र १० स्थानमा अविरल वर्षा भएको छ । मनसुनजन्य विपदमा परेर पछिल्लो २४ घण्टामा ११ जना को मृत्यु भएको, छ बेपत्ता रहेको तथा १२ घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । केही दिनदेखि मनसुन नेपालको पश्चिमी भेगका जिल्लामा सक्रिय छ ।

कालीकोट, बाजुरा, कैलाली, बर्दियालगायत जिल्लामा विपद्जन्य घटना भएका र कालीकोटमा भने बढी क्षति भएको प्राधिकरणले जनाएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिका–४, माझगोठीस्थित एक घरमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । सोही गाउँपालिका–७ स्थित घरमा पहिलो खस्दा अन्य सातले ज्यान गुमाएका र महावै गाउँपालिका–७, कोडवाडामा माथिबाट ढुङ्गा खसेर घर थिच्दा दुई बालबालिकाको ज्यान गएको प्राधिकरणले एक सूचना जारी गरी जनाएको छ ।

कालीकोटका विभिन्न स्थानमा पाँच जना हराइरहेकाले सेना र प्रहरी टोलीले उद्धार जारी राखेको सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईंले जानकारी दिनुभयो । उद्धारका लागि बुधबारदेखि नै सेनाको हेलिकोप्टर आउने प्रयास गरे पनि अझै जान सकेको छैन । बाजुराको बूढीगङ्गा नगरपालिका–१, अमकोटमा गोठालो गएका एक व्यक्ति पहिरामा परेर बेपत्ता भएका छन् । कैलाली र बर्दियामा समेत बाढी र पहिराले केही मानिस घाइते भएका र बाढी पसेर दुई हजार कुखुरा तथा खोर नष्ट भएको जनाएको छ ।

पश्चिम क्षेत्रमा बढी मनसुन सक्रिय हुँदा केही ठाउँमा भारी वर्षा भएको छ । धनगढीमा मात्रै १६७ मिलीमिटर वर्षा मापन गरिएको छ । वर्षादको समयमा एक सय मिलिमिटरभन्दा धेरै वर्षा भएमा त्यसलाई भारी वर्षा मानिन्छ ।

पूर्वी भागमा वर्षा भएको र मध्य भागमा भने केही कम वर्षा भएको छ । धनगढीमा १९८ मिलिमिटर वर्षा मापन गरिएको छ । विराटनगरमा ३३.८, ताप्लेजुङमा १९ र सिमरामा १७ मिलिमिटर वर्षा मापन गरिएको मौसम विज्ञान विभागले जनाएको छ । न्यूनचापीय रेखा नेपालको पूर्वनजिक रहेकाले मनसुन पूर्व र मध्य भागमा बढी सक्रिय हुने देखिएको मौसमविद् मानन्धरले बताउनुभयो ।

तपाईको प्रतिक्रिया