नेकपाका दुई अध्यक्षबीच वार्ता, सहमतिको प्रयास जारी

  साउन ०९, २०७७

काठमाडौँ, साउन ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा अ‍ोली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार दिउँसो वार्ता भएको छ । तीन दिनपछि भएको दुई अध्यक्षबीचको वार्ता सकारात्मक रहेको अध्यक्षका सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्ड प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई भेट्न दिउँसो १२ बजे बालुवाटार पुग्नुभएको उहाँका प्रेस सल्लाहकार विष्णुप्रसाद सापकोटा ‘जुगल’ ले बताउनुभयो । दुई अध्यक्षबीच करिब ४५ मिनेट वार्ता भएको र वार्ता सकारात्मक रहेको उहाँले बताउनुभयो । साउन ६ गते यता दुई अध्यक्षबीच वार्ता हुन सकेको थिएन । तीन दिनपछि भएको वार्तामा सहमतिको प्रयास जारी राख्ने दुवै अध्यक्षबीच कुरा भएको सापकोटाले बताउनुभयो ।

नेकपाको स्थायी कमिटी बैठक १३ गते ११ बजेका लागि सारिएको छ । सोअघि दुई अध्यक्षबीचमा देखिएको आन्तरिक विवाद र मतभेद अन्त्यका लागि समय प्रदान गरिएको स्थायी कमिटीका सदस्यहरूको भनाइ छ । स्थायी कमिटी बैठक एक साताका लागि स्थगित गरिए पनि दुई अध्यक्षबीच सघन बैठक हुन सकिरहेको छैन ।

यसअघि दुई अध्यक्षबीच आगामी मङ्सिरमा पार्टीको ‘अर्ली महाधिवेशन’ गर्नेगरी सहमति बनेको र त्यसको ब्रिफिङसमेत राष्ट्रपतिसमक्ष भएको बताइए पनि त्यसले ठोस रुप लिन सकेन । अध्यक्ष प्रचण्डले आफूलाई परिबन्दमा पारेर राष्ट्रपति कार्यालय पुर्याइएको अभिव्यक्ति दिनुभएपछि सो सहमति पुनः असहमतिमा परिणत भएको थियो ।

दुई अध्यक्षले विभिन्न कोणबाट सहमतिको प्रयास गर्नुभए पनि अहिलेसम्म ठोस सहमति बन्न नसकेको अध्यक्षका सचिवालयको भनाइ छ । अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षकाले एक व्यक्ति एक पद, पार्टीको विधि र पद्धतिको माग स्थायी कमिटी बैठकमा राख्नु भएपछि त्यसमा सहमतिको प्रयास जारी रहेको छ । अध्यक्षद्वयबीचको सहमतिको प्रयास जारी रहने सल्लाहकार सापकोटाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया