खुला बिक्री, फितलो कानुन, ढिलो न्याय, प्रेमभन्दा मनोरोग

  साउन ०९, २०७७

काठमाडौँ, साउन ८ : ‘औषधि किन्न डाक्टरको सिफारिस पुर्जी चाहिने तर एसिड निर्धक्क जसरी जहाँ पनि किन्न पाइने । यो नै एसिड आक्रमण निरन्तर हुने आधार हो’ अभियन्ता उज्वलविक्रम थापा भन्नुहुन्छ ।

नेपालमा एसिड आक्रमणका घटना वृद्धि हुनुको पछाडि नेपालको कानुन नै मुख्य कारण रहेको थापाको अनुभव छ । ‘मान्छेले आवेगमा आएर बन्दुक र खुकुरी प्रहार गर्छ तर एसिड आक्रमण निक्कै सोचेर, लामो समयदेखिको तयारी गरेर गरिने भएकाले यसमा धेरै कैद सजाय गरिनुपर्छ’ थापा भन्नुहुन्छ ।

बिहीबार काठमाडौँमा भएको घटना एसिड सर्वसुलभ भएकैले मात्रै नभएर मनोरोग बोकेका मान्छेहरूको गलत चिन्तनको कारणले भएको बताउनुहुन्छ, थापा । ‘पुरुष ४८ वर्षको हुनुहुन्छ, केटीको उमेर २२ वर्ष छ । अनि एसिड छ्याप्न आउने युवा २३ वर्षको ।’ थापा भन्नुहुन्छ, ‘यो कुनै पनि प्रेम हैन, यो त मानसिक रोग मात्रै हो ।’

कसैको सन्काहापन प्रेमसँग नजोडिने थापा बताउनुहुन्छ । तेजाब बेच्नेलाई अनिवार्य लाइसेन्ससँगै किन्नेले परिचयपत्र राखेपछि मात्रै ठेगाना खुलाएर पाउने व्यवस्था नगरेपछि तेजाब आक्रमण नरोकिने उहाँले बताउनुभयो ।

यस्ता अपराधमा हुने फितलाे कारबाहीले तेजाब आक्रमणका घटनाहरू बढिरहेको थापाले बताउनुभयो । एउटा महिला र पुरुषको अनुहारमा तेजाब हालेपछि उसको जीवन नै बिग्रन्छ, त्यसैले जीवन सकिने भएकाले तिनीहरूलाई जन्मकैदको फैसला सुनाएमा मात्रै आक्रमणमा कमी आउने आशा आफूहरूले लिएको उहाँले बताउनुभयो । नेपालको कानुनमा मुख बिग्रिने गरी एसिड हालेमा आठ वर्षसम्म कैद र हात र शरीरमा परेमा पाँच वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको छ ।

गोल्डेन बाकको सिसीले जोगायो अनुहार
नेपालमा यसअघि भएका तेजाब आक्रमणका घटनाहरूमा खुला मुख भएका भाँडोहरूको प्रयोग हुने गरेको थियो । तर बिहीबार भएको घटनामा युवती २२ वर्षीया पवित्रा कार्कीलाई एसिड हान्दा गोल्डेन बाकको बोतलको मुख सानो भएकाले कम एसिड परेको हो ।

अभियान्ता थापा भन्नुहुन्छ, ‘यो पवित्रा बहिनीको भाग्यको कुरा हो । यसअघि प्रयोग भएका भाँडाहरूको प्रयोगबाट हुँदा मुख नै ड्यामेज हुन्थ्यो ।’ सानो मुख भएकाले एसिड प्रहार गर्ने मुन्ना मोहम्मदको हातसमेत जलेको छ ।

शौचालय सफा गर्न राखेको एसिड प्रहार
काठमाडौँको सीतापाइलामा बिहीबार साँझ २२ वर्षीया युवतीमाथि एसिड प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । कार्कीमाथि एसिड प्रहार गर्ने एक भारतीय नागरिकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर भइ काठमाडौँस्थित डल्लु बस्दैआएका मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मद रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरी र अपराध महाशाखाको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।

प्रहरीले सिसिटीभी फुटेजको आधारमा पछ्याएर उनीहरूलाई पहिचान गरी पक्राउ गरेको हो । अपराध महाशाखाका एसएसपी दीपक थापाले पवित्राले अर्कै केटा मन पराएको भन्दै उनीहरूले शौचालय सफा गर्न राखेको एसिड प्रहार गरेको बताउनुभएको छ ।

अदालती प्रक्रिया नै लामो
पाँच वर्षदेखि एसिड आक्रमणमा परेकाहरूलाई सहज रुपमा र फास्ट ट्रयाकमा मुद्दाको फैसला हुनुपर्नेमा अभियान्ताहरूले जोड दिएका छन् । तर उनीहरूले सोचेको जस्तो छैन । केही वर्षअघि कलैयामा छ वर्षको बालिकालाई बलात्कार भएको घटनामा त्यहाँका न्यायाधीशले सात दिनमै फैसला गरेको नजिर सुनाउँदै अभियान्ता उज्वलविक्रम थापा भन्नुहुन्छ, एसिड हानेर अङ्गभङ्ग गराउने मुद्दाको फैसला फाष्ट ट्रयाकबाट हुनुपर्छ । त्यस्तै अदालतले बालबालिका तथा बलात्कारजस्ता जघन्य अपराधको मुद्दालाई निरन्तर सुनुवाईमा राखेर छिटो मुद्दाको कारबाही अघि बढाउने गरेको छ ।

दुई वर्षअघि एसिड आक्रमणको सिकार बन्नुभएको जेनी खड्कालाई अदालतले दुई वर्षपछि सरकारी अस्पतालवाट घाउ चेकजाँच गरेर ल्याउनु भनेको थियो । त्यसमा अभियान्ता थापा प्रश्न गर्नुहुन्छ, ‘दुई वर्षमा खाटोबाहेक के नै पाइन्छ र ?’

हात थापेर उपचार गर्ने बाध्यता
वीरगञ्जको मुस्कान खातुनमाथि एसिक प्रहार भएसँगै विरगञ्ज महानगरपालिका, प्रदेश नंम्बर २ र सङ्घीय सरकारले उपचारको लागि क्रमशः तीन लाख, पाँच लाख र चार लाख सहयोग गरेको थियो । सो समयमा उहाँको उपचारमा आर्थिक अभाव भएन । परिवारकै सदस्यबाट एसिड प्रहार भएका रामराजा थापाको उपचारमा निक्कै समस्या पर्याे अभियान्ता थापा भन्नुहुन्छ, यस्ता जघन्य अपराधमा सरकारले तत्कालै उपचार गराउने संयन्त्रको विकास गर्न आवश्यक देखिन्छ । एसिड आक्रमण भएपछि उपचारको लागि हात थाप्नु अवस्थाको अन्त्य गरिनुपर्ने अभियान्ता थापाको भनाइ छ ।

मिडिया र प्रहरी निकै सक्रिय
यतीबेला एसिड आक्रमणको विषयमा खोजी गर्न मिडिया र प्रहरीको निकै सक्रियता देखिएको थापा बताउनुहुन्छ । सुरुमा यस्तो माहौल थिएन तर अहिले निक्कै सहयोग आउने गरेको छ । बिहीबारकै घटनामा पनि मिडियाको फलोअप र प्रहरीको सक्रियताले एसिड आक्रमण भएको केही घन्टामै प्रहरीले सम्बन्धित व्यक्तिलाई पक्राउ गर्न सफल भएको छ ।

प्रेम हैन, मानसिक रोग
बिहीबारकै घटनाका डल्लुमा मोहम्मद आलमको उमेर ४८ वर्ष हुन भने एसिड आक्रमणमा परेकी युवतीको उमेर २२ वर्ष । अठ्चालिस वर्षको उमेर प्रौढले २२ वर्षको युवतीसँग गर्ने प्रेम नभएर आकर्षण मात्रै भएकाले प्रेम नाम दिन नहुने सामाजिक अभियान्ता थापाको दाबी छ । उहाँले यस्ता कुरालाई प्रेमको नाम दिन नहुने बताउनुभएकाे छ ।

एसिड फ्याँक्ने मुख्य व्यक्तिले समेत साहुजीले आफूलाई रक्सीको बोतलमा राखेको चीज हाल्नु भनेर दिएको तर त्यसको जानकारी नपाएको बताएका छन् । मोहम्मद आलमका व्याग उद्योग रहेको मुन्ना मोहम्मद समेत सोही उद्योगमा कार्यरत मजदुर रहेको र साहुजीले भनेपछि फालेको बताएका छन् । आफ्नो हातमा परेपछि एसिड भन्ने थाहा भएको हो ।

पवित्रा भेट्न मुस्कान अस्पतालमा
एसिड आक्रमणमा परेर कीर्तिपुरमा रहेको बर्न अस्पतामा उपचार गराइरहेकी पवित्रा कार्कीलाई भेट्न वीरगन्जकी मुस्कान खातुन अस्पताल पुग्नुभएको छ । बिहीबार राति एसिड आक्रमणबाट घाइते भएकी ओखलढुङ्गा घर भई सितापाइला बस्दै आउनुभएकाे २२ वर्षीया पवित्रालाई हौसला दिन उहाँ शुक्रबार बिहान कीर्तिपुरस्थित अस्पताल पुग्नुभएको थियो ।

कार्कीले अर्कै केटालाई मन पराएको भन्दै रौतहट घर भई हाल डल्नु बस्ने मोहम्मद आलमले भारत घर भइ डल्लुमै बस्ने मुन्ना मोहम्मदमार्फत एसिड आक्रमण गरेका थिए । प्रहरीले पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरिसकेको छ ।

खातुनमाथि पनि गत भदौमा एसिड आक्रमण भएको थियो । उहाँको अस्पतालमा उपचारपछि निको भइसक्नुभएको छ । पवित्रालाई भेट्न खातुनसहित समाजसेवी उज्वलविक्रम थापा अस्पताल पुग्नुभएको हो ।

तपाईको प्रतिक्रिया