गाडीको सर्भिसिङ थालियो, मजदुरलाई गाउँबाट डाकियो

  साउन ०४, २०७७

काठमाडौँ, साउन ४ : मौद्रिक नीतिमा व्यवसायी कुरा समेटिएको भन्दै यातायात व्यवसायीहरूले साउन ८ गतेदेखि पुर्णरुपमा यातायात सञ्चालनको तयारीमा जुटेका छन् । लामो समयदेखि ग्यारेजमा रहेका बसहरूलाई सर्भिसिङका लागि मर्मत केन्द्रहरूमा लिएर जान थालेको र गाउँगाउँमा रहेका यातायात मजदुरहरूलाई शहरमा लिएर आउन थालेको व्यवसायीहरूले बताएका छन् ।

‘हाम्रो माग राष्ट्र बैङ्कले सार्वजनिक गरेको मौद्रिक नीतिमा समावेश भएसँगै हामीले साउन ८ गतेबाट सार्वजनिक यातायातहरू चलाउने तयारी गरेका छौँ’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघका बागमती प्रदेशका महासचिव राजेश श्रेष्ठले भन्नुुभयो । तर यसको अन्तिम निर्णय भने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघले गरेपछि मात्रै हुने श्रेष्ठले बताउनुुभयो ।
मौद्रिक नीतिमा राष्ट्र बैङ्कले पुनः कर्जा लगायतका विषयमा सुविधा दिएकाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशभरि नै साउनवाट सार्वजनिक यातायात सञ्चालनको तयारी थालेको हो ।

मौद्रिक नीतिमा राष्ट्र बैङ्कले परिपत्र गर्ने र मन्त्रिपरिषद्ले थप केही सहुलियतको घोषणा गर्ने भएकाले साउन ८ गतेबाट मात्रै यातायात सञ्चालनको तयारीमा महासङ्घ लागेको छ । महासङ्घले सरकारसँग ४० सिटको गाडीमा २५ जना र ३० सिटको गाडीमा २० जना यात्रु बोक्न पाउनुपर्ने, एक जिल्लामा मात्रै नभएर ६० किलोमिटरको केन्द्र बनाएर सार्वजनिक यातायात सञ्चालन गर्न पाउनुपर्ने माग राखेर प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्रसमेत बुझाएका थिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले आइतबार र सोमबार व्यवसायीहरूसँग छलफल गरेर महासङ्घले मङ्गलबार मात्रै आधिकारिक घोषणा गरिने बताउनुभयो ।

महासङ्घले नेपालभर तीन लाख ५० हजार सार्वजनिक यातायात हुने भएकाले यातायातमा काम गर्ने मजदुरको अनिवार्य कोरोना बीमा, मेडिकल सामाग्रीहरूको व्यवस्थापन, सवारी साधनहरूको सेनिटाइजर र मास्क पन्जाको व्यवस्थानको तयारीसमेत गरेको छ ।

चैत्र ११ देखि रोकिएका सार्वजनिक यातायातहरू मौद्रिक नीतिले सम्बोधन गरेपछि आवश्यक सुरक्षाको मापदण्ड अपनाएर मात्रै चलाउने भएकाले साउन ८ बाट सञ्चालनको तयारीमा रहेको श्रेष्ठले स्पष्ट पार्नुुभयो । मौद्रिक तीतिको कार्यविधि कस्तो आउने हो भनेर मात्रै व्यवसायीहरू कुरेर बसेका छन् ।

सरकारले यसअघि सिण्डिकेट हटाउने निर्णय गरेसँगै सञ्चालनमा आएका साना व्यवसायी प्रालीहरूले यसअघि राजधानीमा बस सञ्चालन गरिसकेका छन् । काठमाडौँमा मयूर यातायात, साझा यातायात, सुन्दर यातायातको विद्युत बस सञ्चालनमा आइसकेका छन् । आवश्यक सुरक्षा मापदण्ड अपनाएर राजधानीमा ट्याक्सी तथा टेम्पोसमेत सञ्चालन भइसकेका छन् ।

तपाईको प्रतिक्रिया