सुदूरपश्चिम नाकाबाट भित्रिने घट्दै, एक सातामा २५ सय मात्र

  असार १८, २०७७

लम्की, असार १८ : लकडाउनको समयमा खुल्ला भएका सुदूरपश्चिमका मुख्य नाकाबाट जेठ २ देखि भारतमा गएका नेपाली आउने क्रम रोकेको छैन । रोजगारीका लागि भारतका विभिन्न शहरमा रहेका नेपाली लामो लकडाउनका कारण खान र बस्न समस्या भएपछि नेपालमा भित्रिएका हुन् ।

कैलालीको गौरीफन्टा र महेन्द्रनगरको गड्डाचौकी नाकाबाट एक सातामा दुई हजार ५१६ जना नेपाली नागरिक भित्रिएका छन् भने ७३७ भारतीय बाहिरिएका छन् । सुदूरपश्चिम प्रहरी कार्यालय, दिपायलका अनुसार असार ११ गतेदेखि १७ गतेसम्म उक्त सङ्ख्यामा नेपाली भित्रिएका हुन् ।

प्रहरी निरीक्षक जगदिशसिंह डाँगाले जेठ २३ गते सबैभन्दा बढी छ हजार चार ४९९ नेपाली भित्रिएकोमा विस्तारै घट्दैगएको बताउनुभयो । उहाँले पछिल्लो एक सातामा महेन्द्रनगरकाे गड्डाचौकी नाका भएर एक हजार पचास नेपाली भित्रिएका र ३०४ भारतीय बाहिरिएको बताउनुभयो ।

त्यसैगरी, कैलालीको गड्डाचौकी नाकाबाट एक हजार ४६६ नेपाली भित्रिनुका साथै ४३३ भारतीय नागरिक बाहिरिएका छन् । अझै पनि १५० को हाराहारीमा नेपाली आउने क्रम रोकिएको छैन । सुदूरपश्चिम प्रदेशमा लकडाउनका समयमा जेठ २ गतेदेखि खुल्ला गरिएका मुख्य नाकाबाट भित्रिने नेपालीको सङ्ख्या करिब एक लाख २२ हजार पुगेको छ भने बाहिरिनेको सङ्ख्या करिब १८ हजार पुगेको जनाइएको छ ।

नेपाल भित्रिएका मानिसलाई सुरक्षित क्वारेन्टाइनमा बस्ने र परीक्षणपछि घर जाने व्यवस्था सम्बन्धित जिल्लाका स्थानीय तहले मिलाएको छ । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा भारतबाट आएका करिब एघार हजार मानिस अझै क्वारेन्टाइनमा रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया