बुटवल, जेष्ठ २९ : नेपाल–भारतका खुल्ला सिमा ब्यवस्थापन गर्ने सरकारी रणनीति अनुसार आधिकारिक सिमाबाट नेपाल आउने र जानेक्रम बढेको छ । पछिल्लो पटक लकडाउन ब्यवस्थित र खुकुलो बनिरहँदा नेपालीहरु आउने र भारतीयहरु जाने क्रम बढेको हो ।
प्रदेशको कोरोना संकट ब्यबस्थापन समितिको केही दिअघिको बैठकले हरेक जिल्लामा एक मात्र सिमाबाट आउने जाने ब्यवस्था गर्ने निर्णय गरेको थियो । चार सयभन्दा धेरै किलोमिटर खुल्ला सिमा रहेको यो प्रदेशमा अबैध किसिमले आउने जाने क्रम तीब्र बनेको थियो । जसका कारण कोरोना संक्रमणको जोखिम बढिरहेको छ ।
यो प्रदेशका रुपन्देही, बाँके, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लामा सिमानामा आउने र जाने दुवै बढेका हुन । भैरहवा समाचारदाताका अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बेलहिया नाकाबाट दैनिक करिव दुई हजारको संख्यामा नेपाली र भारतीय नागरिक स्वदेश फर्किरहेका छन् ।
अहिले सीमामा नेपाली भन्दा भारतीयको चाप बढी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खडकबहादुर खत्रीले बताउनुभयो । भारतले दैनिकजसो आफ्ना नागरिक भित्र्याउन थालेपछि नेपालमा रहेका भारतीय मजदूर सीमामा पुग्दा चाप बढ्ने गरेको छ ।
भारत सरकारले उत्तर प्रदेशका नागरिकलाई बेलहिया नाकाबाट स्वदेश फर्किने अनुमति दिएपछि नाकामा भारतीय नागरिकको चाप बढेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताउनुभयो । देउखुरी समाचारदाताका अनुसार दाङका थप सात जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचार गराइ रहेका लमही नगरपालिका र घोराही उप–महानगरपालिकाका सात जना कोरोना संक्रमित निको भएका हुन् । निको हुनेमा छ जना पुरुष र एकजना महिला रहेका छन् । जेठ १४ गते संक्रमण पुष्टि भएका उनिहरु मंगलवार डिस्चार्ज भएका हुन् । अस्पतालमा १४ दिन बसेका उनिहरुको रिर्पोट नेगेटीभ आएपछि डिस्चार्ज गरिएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक हेस्थ असिस्टेण्ट दोर्णबहादुर वलीले जानकारी दिनुभयो ।
अस्पतालबाट डिस्चार्ज भएकाहरुले आफहरुलाई कोरोना लागेको महशुस नै नभएको बताए । लमही नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा उनिहरुले आफुहरु सामान्य सरह महशुस गरेको भन्दै कोरोनाको भय बाट मुक्त हुन आवश्यक रहेको बताए ।
नेपालगञ्ज र बाँके समाचारदाताका अनुसार बाँके जिल्लाको नरैनापुर र नेपालगञ्जमा रहेका विभिन्न क्वारेन्टाइनलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि गैर सरकारी संस्थाले १४ लाख रुपैयाभन्दा बढीका विभिन्न सामाग्रीहरु उपलब्ध गराएका छन् ।