काठमाडौं, जेठ २४ : भारत र चीनबीच सीमा विवादलाई लिएर सैन्य अधिकारीहरुबीचको वार्ता सम्पन्न भएको छ । पूर्बी लद्दाखमा भारत र चीनबीच गत् मे महिनाको तेस्रो साता सुरु भएको विवाद मुक्कामुक्कीमा परिणत भएको थियो ।
एशियाली न्युज इन्टरनेशनल(एएनआई)का अनुसार भारतीय सैन्य अधिकारी र चिनियाँ अधिकारीबीच लाइन अफ एक्च्युल कन्ट्रोल(एलएसी) पारी चिनियाँ भूमि मोल्डोमा वार्ता भएको हो । भारतीय डेलिगेशनको नेतृत्व १४ औं कमाण्डर लेफ्टीनेन्ट जनरल हरिन्दर सिंहले गर्नुभएको थियो । वार्तामा सहभागी टोलीले भारतीय सैन्य प्रमुख एम एम नरवने र उत्तरी सैन्य कमाण्डर लेफ्टीनेन्ट जनरल वाई के जोशीलाई जानकारी गराउनेछन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार वार्तामा दुवै पक्षले शान्तिपूर्ण रूपमा विवाद समाधानका लागि विभिन्न प्रस्ताव पेस गरेका छन् । भारतीय सेनाका प्रवक्ता अनिल सोरेले सीमा विवाद समाधानका लागि दुवै देशले सैनिक र कूटनीतिक तहका वार्तालाई तीव्रता दिएको बताएका छन् । यद्यपि, वार्तामा भएको ठोस प्रगतिबारे भने उनले कुनै जानकारी दिएनन् । ‘सीमाबारे काल्पनिक र निराधार आरोप’ समस्या समाधानका लागि सहयोगी नहुने भएकाले त्यस्ता समाचार संकलन तथा प्रसारण नगर्न पनि सञ्चारमाध्यमलाई सल्लाह दिएका छन् ।
यसअघि दुवै देशका सैनिक अधिकारीहरुबीच १५ चरणमा वार्ता भएको थियो । तर ती वार्तामा ठोस नतिजा ननिस्केपछि माथिल्लो तहमा कुराकानी भएको हो । शुक्रबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कङ स्वाङले दुवै पक्ष घनिष्ठ सम्पर्कमा रहेर सीमासम्बन्धी विवादित मुद्दालाई समाधान गर्न सक्रिय रहेको जनाएका थिए । उनले दुवै देशबीच सीमा क्षेत्रको अवस्था स्थिर र नियन्त्रित भएको जनाउँदै उचित समाधानको प्रयास गरिने बताएका थिए ।
भारतीय सेनाका पूर्वलेफ्टिनेन्ट जर्नेल डीएस हुडाले दुवै देशबीच शनिबार भएको उच्च तहको सैनिक वार्ता हुनु नै ठूलो उपलब्धि भएको बताउँछन् । ‘मैले सैनिक कमान्डरहरु सैनिक वार्तामा सहभागी भएको देखेको छैन्,’ हुडाले भनेका छन् । भारत र चीनबीच ३ हजार ४ सय ८८ किलोमिटर लामो सीमा छ । तीमध्ये कतिपय क्षेत्रमा लामो समयदेखि विवाद जारी छ । दुवै देशबीच सन् १९६२ सीमाका कारण युद्ध भएको थियो ।
त्यसयता दुवै देशबीच सीमा क्षेत्रमा कुनै न कुनै विवाद हुने गरेका छन् । त्यस्ता विवादहरु कहिले सामान्य रूपमै साम्य हुने गरेका छन् भने कहिले त्यसले उग्ररूप लिने गरेको छ । चीन र भारतबीच सन् २०१७ मा भएको दोक्लाम विवाद ७३ दिनपछि उच्चस्तरीय वुहान वार्ताद्वारा समाधान भएको थियो ।
पछिल्लो समय गत मे महिनाको सुरुदेखि लद्दाखको पूर्वी भागमा विवाद चर्केका हो जम्मु–कश्मीर र लद्दाख क्षेत्रमा सीमालाई लिएर भारतको चीनसँग लामो समयदेखि विवाद छ । भारतले चीन नियन्त्रित अक्साई–चीन र पाकिस्तानले चीनलाई दिएको गिलगिट पाकिस्तानको उत्तरी भूभागमा पनि आफ्नो दाबी गर्दै आएको छ । साथै पाकिस्तान नियन्त्रित कश्मीरको भूभाग पनि भारतले आफ्नो दाबी गर्ने गरेको छ ।
त्यही दाबीबीच भारतले २०१९ अगस्ट ५ मा जम्मु–कश्मीर र लद्दाखलाई छुट्याएर नयाँ नक्सा सार्वजनिक गरेको थियो । आफ्नो नियन्त्रणमा रहँदै आएको अक्साई–चीनलगायत क्षेत्रका आफ्नो नयाँ नक्सामा समावेश गरेको भन्दै चीनले तत्कालै विरोध जनाएको थियो । चीनले भारतले आफ्नो नयाँ नक्सामा लद्दाखको विवादास्पद भूमिलाई पनि समेटेको आरोप लगाएको थियो ।
दुवै देशका सैनिकबीच ५ र ६ मा लद्दाखको सीमा क्षेत्रमा झडप भएको थियो । झडपका क्रममा सैनिकहरुबीच लाठी, मुक्का र ढुंगा हानाहान भएको थियो । त्यसपछि मे ९ मा दुई देशका सेना सिक्किमा पनि सामन्य झडप भएको थियो । भारतले चिनियाँ सेनाले आफ्नो भूभाग अतिक्रमण गरेको भन्दै थप सैनिक बल पठाएको थियो । त्यसलगत्तै उक्त क्षेत्रमा चीनले पनि आफ्नो सैन्य उपस्थिति बलियो पारेको छ ।
सीमा क्षेत्रमा बारम्बार हुने रस्साकस्सी, धक्कामुक्का, हतियार खोसाखोसका घटना निरन्तर चलिरहे पनि दुवै मुलुक ठोस समाधानमा पुग्न सकेका छैनन् । भारतले सीमा समस्या समाधानका लागि चीन गम्भीर नभएको आरोप लगाउँदै आएको छ । सीमालाई लिएर दुई छिमेकीबीच तनाव बढ्दै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि दुई देशले चाहेको खण्डमा मध्यस्थता गर्ने प्रस्तावसमेत गरेका थिए । तर ट्रम्पको प्रस्तावलाई भारत र चीन दुवैले अस्वीकार गरेका थिए । उनीहरुले दुई देशको मुद्दामा तेस्रो पक्षको भूमिका आवश्यक नरहेको जनाएका थिए ।
छलफलबाट आएको निस्कर्ष सैन्य सचिबालयले विदेश मन्त्रालयलाई जानकारी गराउनेछन् । वार्ता शनिबार बिहान ११ बजेर ३० मिनेटदेखि निर्धारित गरिएपछि दुई घण्टा ढिला गरी सुरु भएको थियो । चीनको तर्फबाट वार्ताको अगुवाई दक्षिणी सीनजियाङ सैन्य शिविरका जनमुक्ती सेनाका कमाण्डरले गर्नुभएको थियो ।






