कैदीबन्दीबीचकाे झडपबारे छानविन गर्न अनुगमन समिति गठन

  जेठ ११, २०७७

काठमाडौं, जेठ ११ : कारागार व्यवस्थापन विभागले डिल्ली बजार कारागारमा आइतबार बिहान चौकीदार छनौटका बिषयमा कैदीकाबीचमा भएको झडपको बिषयमा व्यवस्थापन विभागले अनुगमन समिति बनाएको छ ।

कारागार व्यवस्थापन विभागका महनिर्देशक प्रदीपराज कणेलको निर्देशनमा निर्देशक वेदनीधि अधिकारी संयोजक र शाखा अधिकृत देवर्षि सापकोटा सदस्य रहेको अनुमगन समिति गठन गरेर त्यहाँको वास्तविकता बुझेर केही समयमै प्रतिवेदन बुझाउने महानिर्देशक कणेलले जानकारी दिनुभयो । अनुगमन समितिले प्रतिवेदन बुझाएपछि त्यहाँको वास्तविकता बाहिर आउने महानिर्देशक कणेलले गोरखापत्र अनलाइनलाइ जानकारी गराउनुभयो ।

राससका अुनसार, काठमाडौँको कारागार कार्यालय डिल्लीबजारमा चौकीदार राख्ने विषयमा विवाद भएको छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कँडेलले आज बिहान विवाद हुँदा सामान्य झडप भएको बुझिएको र विस्तृत जानकारी आउन बाँकी रहेको बताउनुभयो ।

प्रहरीका अनुसार कैदीबन्दीले कारागारभित्रै नाराबाजीसमेत गरेका थिए । कारागार कार्यालयमा भित्रबाट ताला लगाएर प्रदर्शन गरिएकोसमेत जनाइएको छ । महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख विश्वराज पोखरेलले चौकीदार राख्ने विषयमा विवाद हुँदा कारागारमा भित्रबाट ताला लगाएर प्रदर्शन भएको र अहिले प्रहरी परिचालन गरेर स्थिति नियन्त्रणमा लिइसकिएको जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया