मुस्लिम आयोगद्वारा मस्जिद र मदरसाको अनुगमन

  जेठ ०२, २०७७

बारा, जेठ २ : मुस्लिम समुदायद्वारा लकडाउनको पाल्ना गरेनगरेको हेर्न मुस्लिम आयोगले अनुगमन निरीक्षण गरेकाे छ । लकडाउन उलङ्घन गर्ने बढेकाे जनगुनासो आएपछि जिल्लाको मदरसामा आयोगले समिति बनाएर विगत एक सातादेखी अनुगमन गरिएकाे छ ।

कोरोनाको सङ्क्रमण दिनानुदिन बढ्दै गइरहेकाले त्यसलाई रोक्न जिल्ला प्रशासन कार्यालय बाराले निषेधज्ञा जारी गरेपनि समितिले मस्जिद, मदरसा अनुगमन गरी मुस्लिम धर्मावलम्बीलाई सचेत गराउने गरेका हुन् ।

इस्लाम धर्मावलम्बीहरूको एक महिने रोजा अर्थात रमजान पर्वमा मदरसा तथा मस्जिदमा सामूहिक भेला भएर गरिने दैनिक नवाज, अल्लाहप्रतिको प्रार्थना के कसरी कुन तरिकाले सम्पन्न गरिएकाे छ, बेलुकीको सामूहिक भोजन (बेलुकीको ईफतारी) कसरी गरिरहेकाे छ ? भन्ने विषयमा निरीक्षण गरिएको हो ।
बारा जिल्लाको १६ वटा स्थानीय तहले विभिन्न मुस्लिम बस्तीहरूको टोलटोलमा रहेका मस्जिद तथा मदरसाकाे शुक्रबार (जुम्मा)को दिन अनुगमण गरिएको समितिको संयोजक राजमहम्मद रायले बताउनुभयो ।

आयोगको केन्द्रबाट मनोनीत गरेको टोलीले महागढीमाई नगरपालिकास्थित गञ्जभवानीपुर, बिजुलपुर, बरियारपुर, दहियार, सुवर्ण गाउँपालिकाको पर्शुरामपुर, करैयामाई गाउँपालिकाको लौतन मस्जिद तथा मदरसामा पुगेर वस्तुस्थितिका बारेमा जानकारी लिइएकाे समितिका सदस्य डा. कमरुल्लाह अन्सारीले जानकारी दिनुभयो ।

यस्तै, पचरौता नगरपालिकाको लङ्गडाचोक, आदर्श कोतवाल गाउँपालिकाको कोतवाली, सिम्रौनगढ नगरपालिकाको किशुनपुरलगायत स्थानमा रहेका मस्जिद तथा मदरसाहरूमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा मस्जिद, मदरसाहरूमा भेटिएका धर्मगुरुहरूलाई लकडाउनको बेला नेपाल सरकारले गरेको निर्णय पालना गर्न र गराउन पहिलो कर्तव्य रहेको समितिले जनाएको छ । मुस्लिम आयोग नेपालद्वारा मनोनीत गरिएको बारा जिल्लास्तरीय अनुगमन समितिका सदस्य डा.कमरुल्लाह अन्सारी, कलामोदिन अन्सारी (मदनी), मुफिज सिद्दकी, जिबुल्लाह अंसारी लगायतकाले अनुगमन तथा निरीक्षण गर्नुभएकाे हाे । 

यस वर्षकाे रमजान पर्व विगतक दिनभन्दा बेग्लै तरिकाले मनाइएकाे छ । सामूहिक प्रार्थना नभएर तीनतीन मिटरको दूरी बनाएर, सकभर मस्जिद, मदरसाकाे साटाे आआफ्नै घरमा पर्व मनाउन वडा अध्यक्ष बैजुप्रसाद गुप्ता तथा मौलबी जमालु देवानले सल्लाह दिनुभएकाे छ । सल्लाहअनुसार आफूहरूले पर्व मनाउने गरेको प्रसौनी गाउँपालिका वडा नम्बर–३ का आसमहमद मियाँले बताउनुभयो ।

जे जहाँ छ, सोही ठाउँमा रोजा व्रत तथा रमजानमा पढिने विशेष नवाज पढेर मनाउने गरिएको कलैया उपमहानगरपालिका वडा नम्बर–२० बसतपुर निवासी ईमरान आलमले बताउनुभयो । एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार मुलुकमा ११ लाख ६४ हजार २५५ मस्लिम धर्मालम्बी रहेको तथा बारा जिल्लामा करिब ७२ हजार मुस्लिमहरूको जनसङ्ख्या रहेको जिल्ला निर्वााचन कार्यालय बारा कलैयाका प्रमुख सुनिल केशरीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया