आरोग्य फाउन्डेसनका कर्मचारीकाे रिर्पाेट नेगेटिभ, सेवा सञ्चालन

  जेठ ०१, २०७७

ललितपुर, जेठ १ : आरोग्य फाउण्डेशमा कार्यरत कर्मचारीको कोरोना रिपोर्ट नेगेटिभ आएसँगै निदान अस्पताल सञ्चालनमा आएको छ । फाउण्डेशनमा कार्यरत एक महिला कर्मचारीमा कोरोना सङ्क्रमण भएको पाइएपछि बुधबारदेखि सिल गरिएको निदान अस्पताल बिहीबार साँझबाट सञ्चालनमा आएको छ ।

कोरोना भाइरस सङ्क्रमितको सम्पर्कमा पुगेका दुई जना कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि बिहीबार साँझदेखि अस्पताल सुचारु गरिएको निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत विपीन प्रधानले बताउनुभयो । उहाँले जिल्ला जनस्वास्थ्य कार्यालय, ललितपुरबाट अस्पताल सुचारु गर्न आग्रह गरेको बताउनुभयो ।

बुधबार आरोग्य फाउन्डेशनमा कार्यरत एक जना सहकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि आरोग्य फाउण्डेशनका दुई कर्मचारीलाई आइसोलेसनमा राखेर पीसीआर परीक्षण गरिएको थियो । कोरोना परीक्षण गराउन टेकु लैजाने र ल्याउने कार्य गरेका आरोग्यकै एम्बुलेन्स चालक र अर्का एक कर्मचारीलाई आइसोलेसनमा राखेर पीसीआर परीक्षणका लागि नमूना लिइएको थियो ।

स्वास्थ्य कार्यालय, ललितपुर र स्थानीय प्रशासनले सङ्क्रमण फैलिएको हुनसक्ने भन्दै फाउण्डेशन र अस्पताललाई सिल गरेको थियो । सङ्क्रमित कर्मचारी फाउण्डेशनमा काम गर्न नआएपनि उहाँलाई भक्तपुरस्थित डेराबाट टेकु र टेकुबाट डेरा पुर्याउन आरोग्यको एम्बुलेन्स प्रयोग भएको थियो ।

तपाईको प्रतिक्रिया