नेपालमा २० देखि ५० वर्ष उमेर समूहमा संक्रमण धेरै

  जेठ ०१, २०७७

काठमाडौं, जेठ १ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा २० देखि ५० वर्ष उमेर सम्मकालाई धेरै संक्रमण भएको बताएको छ ।

कोरोना भाइरस सम्बन्धि नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २० देखि ५० वर्ष समूहका संक्रमितहरु अत्याधिक रहेको बताउनुभयो । उहाँले जुनसुकै उमेर समूह पनि संक्रमणको जोखिममा रहेकाले सावधानी अपनाउन सबैलाई आग्रह गर्नुभयो ।

प्रवक्ता डा. देवकोटाले माघ १४ गतेबाट हालसम्म पिसिआरबाट २२ हजार ६६४ र आरडिटीबाट ६२ हजार ३२७ जनाको कोरोना परीक्षण भएको जानकारी दिनुभयो । उहाँका अनुसार पिसिआर मार्फत बिहीकार मात्र एकहजार ३६३ जना र आरडिटिबाट दुईहजार आठ परीक्षण भएको बताउनुभयो ।

उहाँले क्वारेन्टाईनमा १५ हजार ६०० जना बसिरहेको बताउनुभयो । काठमाडौंमा छ र बाहिर २६६ जना गरी देशभर २७२ जना आइसोलेसनमा रहेको उल्लेख गर्नुभयो । उहाँले हालसम्म कर्णाली प्रदेशबाहेक अरु छवटा प्रदेशका २२ जिल्लामा संक्रमण देखिसकेको जानकारी दिनुभयो ।

उहाँका अनुसार कुल संक्रमितमध्ये पर्सा जिल्लामा ८५, कपिलवस्तुमा ३९, उदयपुर ३२, रुपन्देहीमा २८, बाँकेमा २५, काठमाडौं ६, कैलाली ४, रौतहट ३, बारा ३, बाग्लुङ, चितवन, महोत्तरी, भक्तपुर, धनुषा, नवलपरासी, झापा, र सर्लाहीमा दुई दुई जना, सप्तरी, भोजपुर, कञ्चनपुर, धादिङ र बर्दियामा एक एकजना गरी कुल २४६ पुगेको छ ।

तपाईको प्रतिक्रिया