कलकत्ताबाट दुई दिनअघि संक्रमित नवलपुर आएका थिए

  जेठ ०१, २०७७

कावासोती, जेठ १ : गण्डकी प्रदेशको पूर्वी नवलपरासीमा फेला परेका कोरोना भाइरस सङ्क्रमित व्यक्ति दुई दिनअघि भारतको पश्चिम बङ्गालको राजधानी कलकत्ताबाट आएको पत्ता लागेको छ । पछिल्लो पटक कोरोना सङ्क्रमण पुष्टि भएका देवचुली नगरपालिका वडा नं. १२ निवासी ४९ वर्षका ती पुरुष वैशाख ३० गते रक्सौल हुँदै नेपाल प्रवेश गरेका थिए ।

जिल्ला स्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का अनुसार भारतको कलकत्ताबाट ट्रकमा रक्सौलसम्म आएका ती व्यक्ति रक्सौलबाट अत्यावश्यक सामग्री लिन गएको ट्रकमा चढी भरतपुरसम्म आइपुगेका थिए । वैशाख ३० गते रक्सौल आइपुगेका ती व्यक्ति दिउँसो ४ बजे ट्रकमा चढी राति साढे १० बजे केन्द्रीय बस टर्मिनल भरतपुरमा झरेका थिए ।

बस टर्मिनलमा झरेर पैदल हिँडेर भरतपुरको कोरोना विशेष अस्पताल पुगेर भर्ना भएकाले उनी अन्य व्यक्तिसँग सम्पर्कमा नभएको पाइएको कार्यालयले जनाएको छ । रक्सौलबाट काठमाडौँका लागि छुटेको उक्त मालबाहक ट्रकमा चालकबाहेक अरु कोही पनि नभएकाले सङ्क्रमित व्यक्ति अन्य कसैसँगको सम्पर्कमा नभएको कार्यालयले जनाएको छ । चितवनको भरतपुरमा रहेको कोरोना विशेष अस्पतालको आइसाेलेसन कक्षमा भर्ना भइ उपचार गराइरहेका ती व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया