कोरोना संक्रमित महिला डिस्चार्ज, चितवन कोरोना मुक्त जिल्ला

  बैशाख ३१, २०७७

चितवन, वैशाख ३१ : कोरोना संक्रमित चितवनकी ज्येष्ठ नागरिक महिला २७ दिनको अस्पताल बसाइपछि निको भएर डिस्चार्ज हुनु भएको छ । पूर्वी चितवनको राप्ति नगरपालिका–८, निवासी कोरोना भाइरस (कोभिड–१९) संक्रमित ६३ वर्षीया महिला भरतपुर अस्पतालबाट वुधबार डिस्चार्ज हुनु भएको हो ।

सोमबार र मंगलबार २४ घण्टाको फरकमा परीक्षण गरिएको दुई दिनको रिपोर्ट लगातार नेगेटिभ आएपछि उहाँमा कोरोना संक्रमण नभएको पुष्टि भएपछि डिस्चार्ज गरिएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले बताउनुभयो ।

अस्पतालबाट डिस्चार्ज भएपछि उहाँ दुई हप्ता घरमा नै क्वारेन्टाइनमा बस्नुपर्ने सुझाव दिइएको छ । यस अघि वैशाख ५ गते, ११ गते भरतपुर कोभिड–१९ प्रयोगशाला, १६ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं, २१ गते हेटौंडा र २७ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा पीसीआर प्रविधिबाट स्वाब परीक्षण गर्दा ती महिलामा पोजेटिभ आएको थियो ।

चितवनकी महिला डिस्चार्ज भएसँगै अब जिल्लामा कोही पनि कोरोना संक्रमित छैनन् । पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको समेत गरेर उहाको सोमबार र मंगलबारको क्रमशः छैटौँ र सातौं रिपोर्ट हो । उहालाई भरतपुर अस्पतालाको आइसोलेसन वार्डमा रहेको क्याविनमा राखेर उपचार गरिएको थियो । कोरोना पोजेटिभ देखिए पनि उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

उहाँसँगै संक्रमित देखिएका २७ वर्षीय छोराको भने दोस्रो र तेस्रो रिपोर्ट लगातार नेगेटिभ आएपछि निको भएर वैशाख १३ गते नै डिस्चार्ज गरिएको थियो । महिलाको वैशाख ३ गते गरिएको ¥यापिड टेस्टमा शंकास्पद देखिएपछि सोहि दिनदेखि आमा, छोरालाई नै भरतपुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो । चैत ३ गते बेलायतबाट नेपाल आउनु भएका उहाँहरू चैत ५ गते सार्वजनिक यातायात मार्फत काठमाडौंदेखि चितवन घरसम्म आउनु भएको थियो ।

तपाईको प्रतिक्रिया