हाइटेन्सन नजिक दाउरा झार्न खोज्दा करेन्ट लागेर मृत्यु

  बैशाख २९, २०७७

सर्लाही, वैशाख २९ : सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा विद्युतीय करेन्ट लागेर सोमबार एक जनाको मृत्यु भएको छ ।

स्थानीय ४० वर्षीय कृष्णबहादुर गोलेको करेन्ट लागेर मृत्यु भएको हो । गोले सोमबार बिहान सबैरै काका र श्रीमतीसँगै घर नजिकै रहेको नन्देश्वर सामुदायिक वनमा दाउरा लिन जानुभएको थियो ।

हरियो बाँसमा रडको अङ्कुशे बनाएर सुकेको रुखबाट दाउरा झार्ने क्रममा गोलेले समातिरहेको बाँस विद्युतको हाइटेन्सन लाईनमा पर्दा उहाँलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर अचेत हुनु भएका गोलेलाई तत्कालै उपचारका लागि नमूना अस्पताल हरिवन पु¥याए पनि चिकित्सकले मृत्त घोषणा गरेका वडाध्यक्ष पञ्चलाल स्याङ्बोले जानकारी दिनुभयो ।

स्थानीय बासिन्दाका अनुसार गोले परिवारले केही दिनदेखि हरियो बाँसमा रडको अङ्कुशे हालेर दाउरा झार्दैआएका थिए ।

मृतक गोलेको शव जिल्ला अस्पताल मलङ्गवामा पोष्टमार्टम गरी सोमबार दिउँसो आफन्तलाई बुझाइएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

तपाईको प्रतिक्रिया