बाँकेमा तीन दिनमा तीनसय ५० बढीको स्वाब सङ्कलन

  बैशाख २८, २०७७

नेपालगञ्ज, बैशाख २८ : काठमाण्डौँबाट २ हजार थान कोरोना भाइरस परीक्षण किट प्राप्त भएपछि नेपालगञ्ज र सो वरिपरिको क्षेत्रमा परीक्षणलाई तीव्र पारिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

नेपालगञ्जमा एकै टोलका २३ गरेर २४ जना कोरोना सङ्क्रमित फेला परेपछि थप संक्रमण रोक्नका लागि परिक्षणलाई तीव्र पार्नुका साथै परीक्षणको दायरा पनि विस्तार गरिरएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनु भयो ।

उहाँले पर्याप्त किट प्राप्त भएकोले परीक्षणलाई तीव्र पारेर गत तीन दिनको अवधीमा नेपालगञ्ज र सो वरिपरि गरेर ३५० भन्दा बढीको स्वाब संकलन गरेर परीक्षण गर्ने कार्य भइरहेको बताउनुभयो ।

फोकल पर्सन श्रेष्ठका अनुसार स्वाब सङ्कलन ठुलो संख्यामा भएपछि भेरी अस्पतालमा रहेको पिसीआर मेसिनबाट मात्र परिक्षण गर्दा धेरै लामो समय लाग्ने देखिएकोले १६२ जनाको स्वाब परिक्षणका लागि काठमाण्डौ पठार्ईएको छ ।

नेपालगञ्जको बिपी चोकबाट ३०, खजुराको सोनपुरबाट १७, खजुरा आइसोलेशन अस्पतालबाट १ र मेडिकल कलेज शिक्षण अस्पतालबाट ८ गरेर शुक्रवार ५६ जनाको, शनिबार नेपालगञ्ज ताँगा स्टेशनबाट १६२ जना र जामा मस्जिद टोलबाट ७५ जनाको गरेर २९३ जनाको स्वाब संकलन गरिएको थियो ।

ती मध्ये ५६ जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ भने ७५ जनाको नेपालगञ्ज र १६२ जनाको काठमाडौँमा परीक्षण भइरहेको छ ।  आइतबर स्वाब संकलन कार्यलाई थप विस्तार गर्दै कोहलपुर–४ र भारतीय सीमाना नजिकको जयसपुरमा पनि संकलन भैरहेको फोकल पर्सन श्रेष्ठले बताउनुभयो । उहाँले कोहलपुरमा ४० र जयसपुरमा ३० जनाको स्वाब संकलन भैरहेको बताउनुभयो ।

नेपालगञ्ज वडा नम्बर ८ मा पहिलो पटक एकजना संक्रमित भेटिएपछि उनको सम्पर्कमा रहेका ९४ जनाको परीक्षण गर्दा थप २२ जना संक्रमित भेटिएका थिए । २२ जनाको सम्पर्कमा रहेका १९० जनाको परीक्षण गर्दा सोही वडामा थप १ जना मात्र संक्रमित भेटिएका थिए ।

२२ जनाको सम्पर्कबाट धेरैमा कोरोना सर्न नपाएको देखिएकोले अझैपनि सक्रियता अपनाईएमा संक्रमणा नियन्त्रण गर्न सकिने चिकित्सकहरूको भनाई छ ।  यसैबीच खजुरा आइसोलेसन अस्पतालमा भर्ना गरिएका एकजना आशंकितको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि उनलाई घर फिर्ता पठाइएको छ ।

हाल खजुरा अस्पतालमा रहेका २४ जना संक्रमितहरूको अवस्था सामान्य रहेको भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा. राजन पाण्डेले बताउनुभयो । उहाँले उनिहरूलाई कुनै समस्या नदेखिएकोले छिटै भाईरसमुक्त हुने आशा गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया