प्रदेश ५ मा सङ्क्रमित थपिँदा जोखिम बढ्यो

  बैशाख २८, २०७७

बुटवल, वैशाख २८ : खुला सीमाका फाइदा उठाउँदै लुकीछिपी नेपाल छिर्नेका कारण प्रदेश ५ मा कोरानाको जोखिम झन् बढ्दै गएको छ । लुकीछिपी भारतबाट कपिलवस्तु छिरेकाहरूमा सङ्क्रमण बढ्दै गएपछि जोखिम झन् बढेको हो ।

पछिल्लोपटक शनिबार कपिलवस्तुका थप तीनजनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक १७ वर्षीय र दुईजना १८ वर्षीय युवकमा कोरोना सङ्क्रमण देखिएको हो ।जिल्ला प्रशाशन कार्यालय कपिलवस्तुका अनुसार उनीहरूमध्ये दुई मायादेवी र एकजना शुद्धोधन गाउँपालिकाका हुन् ।

कोरोना पुष्टि भएसँगै उनीहरूलाई शनिबार नै बुटवलमा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा ल्याइएको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ । स्थानीयका अनुसार उनीहरू भारतको मुम्बईबाट चाकरचौराह नजिकको दसगजा क्षेत्रबाट लुकेर नेपाल प्रवेश गरेका थिए । वैशाख २३ गते रातिदेखि तीर्थादेवी छत्रपाली माविको एकान्तवासमा बसेका थिए । युवाहरूले सिधै एकान्तवासमा आएको बताएका छन् ।

यद्यपि, यसबारे स्थानीयबाट सत्य–तथ्य बुझ्न बाँकी रहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनुभयो । उनीहरूमध्ये एक मुस्लिम र दुईजना अन्य समुदायका छन् । दुई दिनअघि कोरोना सङ्क्रमण देखिएका दुईजना पनि मायादेवी गाउपालिका–२ कै रहेका थिए ।

सुनौली नाकामा एक हजार तीन सय नेपाली

भैरहवा समाचारदाता लक्ष्मण पौडेलका अनुसार नेपाल(भारत सीमानाकामा प्रवासी नेपाली आउनेक्रम तीव्र रूपमा बढेको छ । भारतमा बन्दाबन्दी खुकुलो भएसँगै भारतका विभिन्न सहरमा रोजगारी गरी बस्ने नेपाली फर्किनेक्रम बढेको हो ।

शनिबार बिहानसम्म करिब एक हजार तीन सय बढी प्रवासी नेपाली सीमानाका सुनौलीमा आइपुगेका छन् । इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीका अनुसार नेपाली आउनेक्रम बढिरहेको छ ।

सुनौलीमा रहेको एकान्तवासमा करिब सात सय नेपाली रहेका छन् भने अन्य सीमानाकामा छरिएर रहेको र रातको समयमा लुकीछिपी नेपाल छिर्ने गरेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।

तयार भयो आइसोलेसन सेन्टर

रूपन्देही समाचारदाताका भुवन कार्कीका अनुसार सङ्क्रमितको सङ्ख्या बढिरहँदा रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नै सक्रियतामा आइसोलेसन सेन्टर निर्माण गरेको छ । कोरोना सङ्क्रमणको पूर्वतयारीअन्तर्गत तिलोत्तमाले शङ्करनगर स्वास्थ्यचौकीमा आइसोलेसन सेन्टर निर्माण गरेको हो ।

स्वास्थ्यचौकीलाई आइसोलेसन सेन्टरका रूपमा तयार गरिएको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिनुभयो । आइसोलेसन सेन्टरका लागि एक चिकित्सक र एकजना नर्स नियुक्त गरिएको छ ।

बुटवल कोरोना अस्पतालका चिकित्सक तथा प्राविधिकको निगरानी र परामर्शका आधारमा आइसोलेसन सेन्टर निर्माण गरिएको स्वास्थ्य चौकी इन्चार्ज केशव भट्टराईले बताउनुभयो । सेन्टरमा बिरामीको चौबीसै घण्टा सेवा दिनेगरी स्वास्थ्यकर्मीहरूको व्यवस्थापन हुने चिकित्सक सन्जोग पाठकले जानकारी दिनुभयो ।

दुई हजार कीट आयो

नेपालगन्ज समाचारदाता सिराज खान र बाँके समाचारदाता गोविन्द शर्माका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना परीक्षणका लागि नेपालगन्जमा दुई हजार कीट पठाएको छ । भेरी अस्पताल नेपालगन्जमा रहेको प्रयोगशालामा पीसीआर जाँचका लागि दुई हजार कीट प्राप्त भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले जानकारी दिनुभयो ।


अस्पतालका सुपरिटन्डेन्ट डा. थापाले मन्त्रालयबाट कीट प्राप्त भएपछि परीक्षणको कार्य रोक्नु नपर्ने बताउनुभयो । अस्पतालमा यसअघि प्राप्त कीटले शुक्रबारसम्म परीक्षण गर्न सकियो, डा. थापाले भन्नुभयो, कीट सकिएकै दिनमा थप प्राप्त भएपछि परीक्षणमा कुनै अवरोध हुने भएन, । नेपालगन्जमा हालसम्म २४ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । शुक्रबार मात्रै एकजनामा कोरोना सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

बन्दाबन्दीमा घरमै सेवा

देउखुरी समाचारदाता दिवाकर पोख्रेलका अनुसार बन्दाबन्दीको बीचमा कसरी मलको जोहो गर्ने चिन्ता रहेका दाङको लमही नगरपालिका वडा नम्बर ६ देउपुरका गरिबु चौधरी आफ्नै घर–आँगनमा रासायनिक मल आइपुगेपछि खुसी हुनुहुन्छ । घरमै सेवा पाएपछि उहाँजस्तै अन्य कृषकहरू पनि खुसी हुनुभएको छ । स्थानीय जनप्रतिनिधिको पहलमा उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्था लमहीले आफ्ना उपभोक्तालाई घर–घरमै रासायनिक मल पुट्टयाएको हो ।

प्युठानमा दुईजनामा आरडीटी पोजेटिभ

प्युठान समाचारदाताका अनुसार प्युठान जिल्लामा दुईजनामा आरडीटी टेस्ट गर्दा पोजेटिभ देखिएको छ । प्युठान नगरपालिका–२ स्थित सिद्धार्थ हलको एकान्तवासमा बसेका दुईजना पुरुषमा आरडीटी पोजेटिभ देखिएको प्युठान नगरपालिकाका स्वास्थ्य संयोजक गोविन्द घिमिरेले बताउनुभयो । दुईजना पुरुषमा आरडीटी पोजेटिभ देखिएको छ, उहाँले भन्नुभयो, थप जाँचका लागि स्वाब सङ्कलन गरेर पीसीआर गरेपछि पुष्टि हुन्छ । उहाँका अनुसार पोजेटिभ देखिएका व्यक्ति दुवै जना पुरुष हुन् ।

तपाईको प्रतिक्रिया