सप्तरीको क्‍वारेन्टाइनबाट १९ भारतीय बेपत्ता

  बैशाख २६, २०७७

राजविराज, वैशाख २६ : सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी ब्यारेजको कोसी निम्न माध्यमिक विद्यालयस्थित क्वारेन्टाइनबाट १९ जना भारतीय बेपत्ता भएका छन् ।

चौबीसै घण्टा प्रहरीको कडा निगरानी रहने क्वारेन्टाइनबाट उनीहरु बेपत्ता भएका हुन् । सशस्त्र र नेपाल प्रहरीले उक्त क्वारेन्टाइनमा सुरक्षा दिँदै आएको छ ।

नेपालको विभिन्न भागबाट भारतको पश्चिम बंगाल र बिहार राज्यस्थित घर फर्किंदै गरेका ७२ जना भारतीयलाई १ नम्बर प्रदेशमा प्रवेश नदिइएपछि दुई सातादेखि क्वारेन्टाइनमा राखिएको छ । सबैको भोजनको खर्च तथा सुत्नेबस्ने व्यवस्था हनुमाननगर कंकालिनी नगरपालिकाले खर्च बेर्होदै आएको छ ।

बुधबार राति एउटा कोठामा रहेका १९ जना गायब भएको सूचना क्वारेन्टाइनमा रहेका अन्यले बिहीबार बिहानमात्र थाहा पाएका थिए । गायब भएका सबैको जुत्ता, चप्पल र ब्याग कोठामै रहेको छ । उनीहरुको सामान्य ज्वरो जाँच्ने काममात्रै भएको थियो । ‘आफै भागेर कोही जान सक्ने अवस्था छैन, प्रहरीको यत्रो डयुटी छ,’ क्वारेन्टाइनमा रहेका बिहारका मुकेशकुमारले भने, ‘उनीहरुलाई खोज्नु अब नेपाल सरकारको दायित्व हो ।’

कोसी ब्यारेज प्रदेश नम्बर १ र २ को बोर्डर हो । गायब भएकाहरु सुनसरी प्रवेश गरेका छैनन् । कोसीमा रहेका सबै डुंगा स्थानीय तह र प्रहरीले नियन्त्रणमा राखेकाले उक्त विकल्प प्रयोग जान सक्ने अवस्था पनि नरहेकाले घटना शंकास्पद रहेको स्थानीय बासिन्दाले बताए ।

उनीहरु नेपालकै कुनै बस्तीमा गएर लुकेको हुन सक्ने पनि उनीहरुको भनाइ छ । ‘उनीहरुको कोरोना परीक्षण पनि गरिएको थिएन । यसले नेपाली बस्तीतर्फ जोखिम बढ्यो,’ एक स्थानीयले भने, ‘प्रहरीको लापरबाहीले यस्तो भयो ।’

हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख शैलेशकुमार साहले आफूले क्वारेन्टाइनमा खानाको प्रबन्ध र स्वास्थ्यसम्बन्धी विषय मात्र हेर्ने गरेकाले यसबारे सुरक्षाकर्मीहरुले नै भन्न सक्ने बताए ।

सप्तरीका प्रहरी प्रवक्ता डीएसपी तिलक भारतीले बिहीबार बिहान गन्दा ७२ जनमध्ये ५३ जना मात्र पुगेपछि मात्र १९ जना नरहेको थाहा भएको बताए । २४ घण्टा प्रहरीको ड्युटी रहेको स्थानबाट १९ जना कहाँ गए भन्ने प्रश्नमा डीएसपी भारतीले भने, ‘त्यो खोज्दै छु, बुझ्दै छु ।’

सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले यसबारे प्रतिक्रिया दिन मानेनन् । ‘सबै अड्डाका विषयमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी हुँदैन,’ प्रजिअ खनालले भने, ‘त्यहाँ खटिएकाहरुलाई सोध्नुस् न, यसबारे म बोल्दिनँ ।’

उक्त क्वारेन्टाइनस्थलको सुरक्षा गरिरहेका इलाका प्रहरी कार्यालय भारदहका प्रहरी नायव निरीक्षक सागिर राइनसित सम्पर्क हुन सकेन । स्रोतका अनुसार प्रमुख राइनसहित पाँच प्रहरीलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय तानिएको छ । राइनको स्थानमा नयाँ प्रहरी नायव निरीक्षक पठाइएको छ ।

डीएसपी भारतीले भने राइनसहित ५ प्रहरीलाई जिल्ला बोलाउनु आन्तरिक कुरा रहेको कान्तिपुरमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया