शुक्रबार थप दुईजना डेङ्गु संक्रमण भेटियो

  बैशाख २६, २०७७

बेनी, वैशाख २६ : उच्च ज्वरो आउनु, शरीरमा जाडो हुनु र जोर्नीहरु दुख्ने समस्या लिएर बेनी अस्पतालमा उपचार लागि आएका दुईजनाको परीक्षण गर्दा डेङ्गु संक्रमण पोजेटिभ देखिएको छ ।

बेनी नगरपालिका–५ भिरमुनीका २० वर्षीय युवा र बेनी नगरपालिका–६, छापका २३ वर्षीय युवामा शुक्रबार डेंगु पुष्टि भएको बेनी अस्पतालका मेडिकल रेकर्र्डर सुपरभाइजर प्रकाश शर्माले बताउनुभयो । यो सँगै हिमाली जिल्ला म्याग्दीमा डेंगु रोगको सक्रमण हुनेको संख्या नौ पुुगेको छ ।

मेडिकल रेकर्र्डर सुपरभाइजर शर्माका अनुसार शुक्रबार डेंगु पोजेटिभ भेटिएका दुई जना अहिले दुवैको चिकित्सकको निगरानीमा उपचार भैरहेको छ भने स्वास्थ्य अवस्था सामान्य रहेको छ । गत आइतबार तीन जना र बुधबार दुई जनामा डेंगु पोजिटिभ भेटिएको थियो ।

पछिल्लो तथ्याङ्क अनुसार बेनी नगरपालिकामा ६, मंगला गाउँपालिकामा २ र मालिका गाउँपालिकामा १ जनामा डेंगु देखिएको छ । म्याग्दीमा डेंगु पोजेटिभ भेटिका मध्ये एकजना थप उपचारका लागि पोखरा रिफर गरिएको छ भने ३ जनाको बेनी अस्पतालमा उच्च सतर्कता साथ उपचार भै रहेको बेनी अस्पताका डाक्टर मनोज घिमिरेले बताउनुभयो ।

विश्वभर कोभिड–१९ का विरुद्ध लकडाउन जारी रहेको अवस्थामा म्याग्दी जिल्लाको सदरमुकाम बेनी तथा ग्रामीण क्षेत्रमा नै डेंगुका संक्रमितहरु भेटिनुले उच्च सतर्कता अपनाउन पर्ने देखिएको बेनी अस्पतालका डाक्टर मनोज घिमिरेले बताउनुभयो ।

यसैबीच, जिल्लाका स्थानीय तहले बिहीबारदेखि डेंगु सार्ने लामखुट्टे खोज र नष्ट गर अभियान थालेका छन् । बेनी बजारमा विभिन्न २८ समूह बनाएर सरसफाइ गरिएको बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया