काठमाडौं, वैशाख २२ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरिक्षक (आइजीपी) सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता भएको छ ।
सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, बबरमहलमा पूर्वमन्त्री एवम् जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरणको जाहेरी दर्ता भएको हो ।
गत बैशाख १० गते सांसद बस्नेत, श्रेष्ठ तथा पूर्वआइजीपी खनालले सांसद यादवलाई महोत्तरीबाट काठमाडौंसम्म अपहरण गरि ल्याएको आरोप रहेको छ । यसअघि सांसद यादवसहित जनता समाजवादी पार्टीका नेताहरु जिल्ला सरकारी वकिलको कार्यालय पुगे पनि जाहेरी दर्ता भएको थिएन । तर, सोमवार अपहरणको जाहेरी दर्ता भएको एक अधिवक्ताले जानकारी दिए ।
यसअघि यादवले राष्ट्रिय मानवअधिकार आयोगमा पनि उजुरी दिएका थिए । साथै सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वआइजीपी खनालले आजैमात्र मानवअधिकार आयोगमा आफूहरु निर्दाेष रहेको भन्दै जीवन रक्षाको माग गर्दै उजुरी दर्ता गराएका छन् ।