कम उमेरकामा नेपालमा पहिलोपटक देखियो कोरोना

  बैशाख २१, २०७७

काठमाडौँ, वैशाख २१ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार कोरोना संक्रमितको संख्या ६९ पुगेको जनाएको छ । आइतबारमात्र १० जना कोरोना संक्रमित थपिएका हुन् । ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयले आइतबार नेपालगन्‍जको प्रयोगशालामा परीक्षण गर्दा ७ देखि ५८ वर्ष उमेरका व्यक्तिमा कोरोना संक्रमण देखिएको बताएको छ । मन्त्रालयले ती ७ वर्षीय बालक वा बालिका भनेर बताएको छैन । यसअघि सबैभन्दा कम उमेरकोमा कोरोना संक्रमण देखिएको भनेको जनकपुरका १४ वर्षीय बालक हुन् ।

अध्ययनले कोरोना संक्रमितमध्ये बालबालिकाभन्दा ज्येष्ठ नागरिकलाई बढी कोरोना संक्रमण हुने देखाएको छ । नेपालमा आइतबारसम्मको तथ्यांक हेर्दा सबैभन्दा बढी उमेरको पेप्सीकोलाकी ८१ वर्षीया वृद्धामा कोरोना संक्रमण देखिएको थियो । उनी निको भएर घर फर्किसकेकी छिन् ।

कुन समूहलाई बढी जोखिम ?
अहिलेसम्मको तथ्याङ्कअनुसार कोभिड–१९ को संक्रमणबाट पाका उमेरका व्यक्तिहरु जोखिममा छन् । अहिलेसम्म मृत्यु हुनेमा पनि बढी उमेरकै रहेको विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ)को रिपोर्टले उल्लेख गरेको छ । डब्लूएचओ र चीनको रिपोर्टले कोभिड–१९ को संक्रमण बालबालिकामा एकदमै न्यून छ ।

तथ्याङ्कअनुसार ९ वर्षसम्मका बालबालिकामा यसको संक्रमणको जोखिम अति न्यून छ । अहिलेसम्म कोभिड–१९ बाट ९ वर्षसम्मका बालबालिकाको मृत्यु भएको छैन । कोभिड–१९ को संक्रमणको जोखिम ८० वर्षभन्दा माथिका व्यक्तिमा देखिएको छ । अहिलेसम्म मृत्यु भएकामध्ये १४.८० प्रतिशत यो समूहका छन् । त्यस्तै ८ प्रतिशत मृत्यु ७० देखि ७९ उमेर समूहका व्यक्तिको भएको छ ।

हाल नेपालमा रुपन्देहीमा १ जना, नेपालगन्‍जमा १०, धनगढीमा १, भरतपुरमा १, वीरगन्जमा ९ तथा विराटनगरमा ३१ गरी ४४ जनाको उपचार भइरहेको छ र सबैको स्वास्थ्य स्थिति सामान्य रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जनाएअनुसार हालसम्म कुनै पनि बिरामीमा गम्भीर लक्षण देखिएको छैन । सबैको स्थिति सामान्य छ । संक्रमितमध्ये कसैको मृत्यु भएको छैन ।

हालसम्म कोरोना संक्रमित निको हुनेको संख्या १६ रहेको छ । तर यसअघि निको भएर घर फर्किएका रौतहटका १९ वर्षीय युवकलाई भने रिपोर्ट शंकास्पद देखिएपछि पुनः नारायणी अस्पताल वीरगन्जको आइसोलेसनमा ल्याइएको छ ।

तपाईको प्रतिक्रिया