कोरोनामुक्त भई डिस्चार्ज भएका दुई जनालाई पुनः उपचारका लागि अस्पताल भर्ना गरियो

  बैशाख २१, २०७७

वीरगञ्ज , वैशाख २१ : वीरगञ्जस्थित नारायणी अस्पतालमा गत चैत ३० गते र वैशाख २ गते भर्ना भई उपचार गराएर वैशाख १४ गते कोरोनामुक्त भई डिस्चार्ज भएका वीरगञ्जमा रहेका एक भारतीय नागरिक र रौतहटका एक युवक कोरोना पोजेटिभ देखिएपछि पुनः उपचारका लागि नारायणी अस्पतालमा नै भर्ना भएका छन् ।

वैशाख १४ गते कोरोनामुक्त भएको भनी डिस्चार्ज गरी घर पठाइएका रौतहटको इशानाथ नगरपालिका ८ का १९ वर्षीय किशोरलाई शनिबार राति र भारत उत्तर प्रदेशका वीरगञ्ज २ मा बस्दै आएका ४१ वर्षीय भारतीय नागरिकलाई आइतबार दिउँसो नारायणी अस्पतालमा भर्ना गरिएको हो । डिस्चार्ज भई घरमा बसोवास गर्दै आएका रौतहटको इशानाथ नगरपालिका वडा नम्बर ८ का १९ वर्षीय बच्चा अन्सारी डिस्चार्ज भएको एक सातापछि पुनः उपचारका लागि अस्पताल भर्ना भएका हुन् ।

नारायणी अस्पतालको आइशोलेनशमा १२ दिनसम्म उपचार गराएका अन्सारीको पीसीआर परीक्षणको तेश्रो, चौथो र पाचौँ रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले वैशाख १४ गते उनलाई डिस्जार्च गरी घर पठाईएको थियो । तर पछि क्रस चेक गर्दा अन्सारीको रिपोर्ट पोजेटिभ देखिएपछि पुनः अस्पतालमा ल्याएर आइसोलेनशमा राखी उपचार सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले गोरखापत्रलाई बताउनुभयो ।

अस्पताल श्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा क्रस चेक गर्दा अन्सारीको रिपोर्ट पोजेटिभ देखिएपछि अस्पतालका स्वास्थ्यकर्मीले गत बुधबार उनको घरमै पुगेर स्वाब संकलन गरी पठाएको स्वाबको रिपोर्ट पनि पोजेटिभ आएपछि अन्सारीलाई शनिबार राति अस्पतालमा ल्याइएको हो । अस्पताल ल्याएपछि शनिबार राती नै पुनः उनको स्बाव संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणको लागि पठाईएको छ । अस्पतालले शनिबार नै अन्सारीसँगै वैशाख १४ मा डिस्चार्ज गरिएका वीरगञ्जका अन्य तीन जना भारतीय नागरिकको स्बावको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि काठमाडौं पठाएको छ ।

वैशाख १४ गते कोरोनामुक्त भएको भनी अस्पतालबाट डिस्चार्ज भएलगत्तै उनी एम्बुलेन्सबाट घर गई परिवार र आफन्तसँग बस्दै आएका थिए तर बुधबार नारायणी अस्पतालबाट घरमा पुगेका ३ स्वास्थ्यकर्मीले खकार, सिगान र रगतको नमूना संकलन गरी फर्किएका र शनिबार बेलुकी नारायणी अस्पतालको एम्बुलेन्स गएर उनलाई घरबाट अस्पताल ल्याएको बताईएको छ । वैशाख १४ गते अन्सारीसँगै चार जनाको पीसीआर रिपोर्टमा त्रुटी फेला परेको जानकारी दिँदै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले स्वाब संकलन गरेर पठाउन आग्रह गरेको अस्पताल श्रोतले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले स्वाब संकलन गरेर पठाउन आग्रह गरेपछि अंसारीसँगै उनको घर परिवार तथा आफन्त १३ जनाको स्वाब नमूना बुधबार संकलन गरी पठाईएको तर अंसारीको पोजेटिभ र अन्य सबैको नेगेटिभ देखिएकाले पोजेटिभ देखिएका अंसारीलाई शनिबार उपचारका लागि पुनः अस्पताल भर्ना गरिएको हो । अन्सारीसँंगै कोरोनामुक्त भई डिस्चार्ज भएका वीरगञ्ज वडा नम्बर–२ छपकैयामा मस्जिदमा बस्दै आएका एक जना भारतीय नागरिक पोजेटिभ देखिएका छन् ।

तपाईको प्रतिक्रिया