‘प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार’

  बैशाख २१, २०७७

काठमाडौँ, वैशाख २१ : अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले नागरिकको सुसूचित हुने अधिकारलाई सहजीकरण गर्ने अधिकार नै प्रेस स्वतन्त्रता भएको बताउनुभएको छ ।

प्रवक्ता डा. खतिवडाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा (मे ३) शुभकामना दिनुहुँदै भन्नुभएको छ, “यद्यपि, प्रेस स्वतन्त्रता असीमित र निरपेक्ष हुन सक्दैन । यसका निश्चित दायित्व र सीमाहरू हुन्छन् ।” उहाँले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार भएको चर्चा गर्दै नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको स्मरण गर्नुभएको छ ।

उहाँले सन्देशमा भन्नुभएको छ, “नेपालको संविधानमा सर्वसाधारण नागरिकको अभिव्यक्ति स्वतन्त्रता तथा नागरिकको हक सुनिश्चित गरिएको छ ।” सन्देशमा यी अधिकारहरूलाई सहजीकरण गर्न सञ्चारमाध्यमलाई सूचनाको खोजी गर्ने छुट हुने उल्लेख गर्दै भनिएको छ, “प्रकाशन÷प्रसारण गर्ने, राज्यका निकायहरूको काम कारबाहीलाई निगरानी राख्ने छुट दिइएको हुन्छ, जसलाई हामी प्रेस स्वतन्त्रता भन्छौँ ।”

उहाँले कोरोना भाइरस (कोभिड–१९) पछि बन्दाबन्दीको असहज अवस्थामा पनि जनतालाई सुुसूचित गर्न खटिएका पत्रकार तथा सञ्चारकर्मीको योगदानको उच्च प्रशंसा गर्नुभएको छ ।
उहाँले व्यावसायिक धर्म निर्वाह गर्दा जीवन गुमाउनुहुने सञ्चारकर्मीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै आउनुभएका सबैमा हार्दिक धन्यवादसमेत व्यक्त गर्नुभएको छ । हरेक वर्ष मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घीय महासभाले सन् १९९३ देखि विश्व प्रेस स्वतन्त्र दिवस मनाउने निर्णय गरेको हो ।  

तपाईको प्रतिक्रिया