४ बजेका लागि बोलाइएको नेकपा सचिवालय बैठक साढे ५ बजे, वामदेवलाई फकाउँदै प्रधानमन्त्री

  बैशाख २०, २०७७

काठमाडौं, वैशाख २० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज साँझ साढे ५ बजे बस्ने भएको छ ।

नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीका आन्तरिक विषयमा छलफल हुने जानकारी दिनुभयो ।

यसअघि सचिवालय बैठक यही वैशाख १७ गते बसेको थियो । सो बैठकले आज पुनः सचिवालय बैठक तय गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओली पार्टी उपाध्यक्ष वामदेव गौतमसँग छलफल गरिरहेका छन् । सचिवालय बैठक साढे ५ बजेका लागि सारेर उनी गौतमसँग छलफलमा लागेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालयको बैठक साढे ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जानकारी दिएका छन् । उक्त बैठक ४ बजेका लागि बोलाइएको थियो ।

प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेव गौतमलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् । यसअघिको सचिवालय बैठकमा कोरोनाको उन्मुलन भएपछि आफूले राजीनामा गरेर गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ओलीले राखेका थिए ।

पार्टीभित्र विवाद बढ्दै गएपछि ओलीले प्रधानमन्त्रीमा गौतम र पार्टीको तेस्रो अध्यक्षमा माधवकुमार नेपालको नाम प्रस्ताव गरेका थिए ।

उक्त प्रस्तावमा गौतमले पार्टी कमिटीबाट औपचारिक निर्णय हुनुपर्ने माग गरेका छन् भने नेता नेपालले उक्त प्रस्ताव अस्वीकार गरेका छन् ।

तपाईको प्रतिक्रिया