महोत्तरी, वैशाख १९ : महोत्तरीका २ बस्तीमा ४ दिनमै ८ जनाको मृत्यु भएको छ । भंगाहा-७ स्थित मेघनाथ गोरहन्ना र बर्दिवास नगरपालिका-१२ का स्थानीयको मृत्यु भएको हो । उनीहरुमा अचानक पेट दुख्ने, झाडापखाला लाग्ने र बान्ता हुने लक्षण देखापरेको स्थानीयले बताएका छन् । कतिपय राति सुतेको अवस्थामा बिहान मृत भेटिएका थिए ।
बर्दिवास-१२ मा शुक्रबार बिहान ५५ वर्षीया मोमनीदेवी सर्दार र २६ वर्षीय सोपिन्द्र मण्डलको समेत मृत्यु भएको हो । सोही ठाउँका ५२ वर्षीय गंगाराम सदाको बुधबार मृत्यु भएको थियो भने सो बस्तीसँगै जोडिएको भंगाहा-७ मेघनाथ गोरहन्नामा मंलबारयता ५ जनाको मृत्यु भइसकेको छ ।
मंगलबार ४८ वर्षीया नथुनी महरा र ४० वर्षीय मोहन चौधरीको मृत्यु भएको थियो । बुधबार ५४ वर्षीय लालबाबु सिंह तथा बिहीबार ६० वर्षीय सुकदेव महरा र ४० वर्षीय सिकेन्द्र सिंहको मृत्यु भएको थियो । अघिल्लो बिहीबार भंगाहा-७ कै महेन्द्र चौधरीको पनि मृत्यु भएको थियो । चौधरीसहित सो बस्तीमा मृत्यु हुनेको संख्या ९ पुगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
लकडाउनका बेला अज्ञात रोगबाट मृत्यु भएको भन्दै गाउँले त्रसित बनेका छन् । उनीहरुले मृतकमा कोरोना भए/नभएको तत्काल पुष्टि गरिदिन सम्बन्धित पक्षसँग माग गरेका छन् । स्थानीय केही व्यक्ति र जनप्रतिनिधिले भने उनीहरुको मृत्यु अत्यधिक विषाक्त मदिरा सेवनबाट भएको हुन सक्ने बताएका छन् ।
‘मृत्यु हुने व्यक्तिहरु मदिराका अम्मली भएकाले रक्सी सेवनबाटै घटना भएको हुन सक्ने अनुमान गरेका छौं,’ भंगाहा नगरपालिकाका मेयर सञ्जीव साहले भने । दिउँसो काम गरेर राति सुतेका व्यक्ति बिहान मृत फेला परेकाले उनीहरुलाई कोरोना संक्रमण थियो भन्ने आधार नभएको उनको भनाइ छ ।
बर्दिवास-१२ का अध्यक्ष रामकिशोर साहले पनि मृतकले बढी मदिरा सेवन गरेकै कारण उनीहरुको ज्यान गएको बताए । अखाद्य कच्चापदार्थ प्रयोग गरी बनाइएको विषाक्त रक्सी सेवन गरेकै कारण उनीहरुको ज्यान गएको उनले दाबी गरे ।
मृतकमध्ये सिकेन्द्र सिंह र सुकदेव महराको पोस्टमार्टम गरिएको छ । मृतकमा कोरोनाको समेत आरडीटी गरिएको थियो । उनीहरुम रिपोर्ट नेगेटिभ आएको एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । ‘दुई जनाको पीसीआर परीक्षणका लागि स्वाब प्रयोगशाला पठाएका छौं। रिपोर्ट आउन बाँकी छ ।’ उनले अहिले नै मदिराले ज्यान गएको भन्न नसकिने बताए ।
‘विषाक्त मदिराको कारण हो/होइन भन्ने पनि पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुन्छ,’ उनले भने, ‘घटनाको कारण पत्ता लगाउन रिपोर्ट कुरिरहेका छौं ।’ अन्य मृतकको भने परिवारजनले मृत्युलगत्तै दाहसंस्कार गरिसकेकाले उनीहरुको परीक्षण गर्न नपाएको उनको भनाइ छ ।
मृतक सबै विपन्न परिवारका हुन् । उनीहरुलाई किरिया खर्चबापत २० हजार उपलब्ध गराइने भंगाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले बताएको इकान्तिपुरमा उल्लेख छ ।