बहराइनमा थप ३१ नेपालीमा कोरोना संक्रमण, १५७ संक्रमित

  बैशाख १९, २०७७

काठमाडौं, वैशाख १९ : बहराइनमा थप ३१ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । यस अघि १२६ जनामा कोरोनाको संक्रमण देखिएकोमा हिजो थप ३१ जना थपिए संगै संक्रमित नेपालीको संख्या १५७ पुगेको हो ।

बहराइनस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुरा जानकारी गराएको हो ।
बहराइन अधिराज्यमा एक लाख २८ हजार ४८१ जनामा कोरोना संक्रमण भए÷नभएको परिक्षण गरिएको दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

संक्रमितको संख्या एक हजार ५३४ जना रहेकोमा एक जना गम्भिर अवस्थामा रहेको दूतावासले जनाएको छ । बहराइनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । बहराइनले ७ अप्रिल २०२० बाट लागु हुने गरी बहराइनमा अवैधानिक रुपमा विना कागजात कार्यरत कामदारका लागी वैधानिक हुन वा बहराइन छोड्न ३१ डिसेम्बर सम्म माफी दिने निर्णय गरेको छ ।

बहराइनमा नेपाली कामदारमा कोरोना संक्रमण बढीरहेको वेला नेपाली राजदूतावासले कामदारको आवास अवलोकन गरेको बताएको छ । बहराइनमा कामदारको पछिल्लो समय रुपान्तरण भएको आवास अवलोकन गरेको बताएको हो । सो क्रममा नेपालीहरुलाई कोरोना भाइरस संक्रमणबाट जोगिन आवश्यक सूचनामूलक जानकारी दिइएको दूतावासले बताएको छ ।

आवासमा खटिएका स्वास्थ्यकर्मीहरुसँग पनि नियोगका कर्मचारीहरुले छलफल गरेको दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । बहराइन लागि नेपाली राजदूत पदम सुन्दासले नेपाली कामदारको स्वास्थ्यप्रति बहराइनकोे परराष्ट्र र श्रम मन्त्रालयसँग कुराकानी गर्नुभएको छ ।

यसैबीच धेरै कामदार भएका कम्पनीले आवश्यक पर्ने आवास व्यवस्था गर्न अनुरोध गरेको दूतावासले बताएको छ । केहि दिनदेखि नेपाली लगायत कामदारहरुको आवास रुपान्तरण हुन थालेको छ । बहराइन सरकारले संक्रमण रोकथाममा थप प्रभावकारी बनाउनसंक्रमितले क्वारेनटाइन अवज्ञा गरेको पुष्टि भएमा ३ महिना सम्म जेल सजाय वा १० हजार बहरान मुद्रा जरिवाना हुने कानुनी प्रावधान ल्याएको छ ।

संक्रमण नियन्त्रण नआउँदा सम्मका लागि ५ जना वा सो भन्दा कम संख्या मात्र भेला हुन पाउने व्यावस्था गरिएको छ । पार्क तथा सार्वजनिक स्थलमा घुमघाम गर्न निषेध गरिएको छ । दूतावासले बहराइनमा रहेका नेपालीलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन अनुरोध समेत गरेको छ ।

तपाईको प्रतिक्रिया