रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन

  बैशाख १९, २०७७

काठमाडौं, वैशाख १९ : रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको ८६ वर्षका उमेरमा काठमाडौँमा निधन भएको छ । सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा रानुदेवीको गए राति निधन भएको उहाँकी छोरी अल्पना रेग्मीले जानकारी दिनुभयो ।

शास्त्रीय संगीतमा विशेष लगाव रहेको रानुदेवीका नेपाली अघि बढ, हातमा क्रान्ति झण्डा लिई, जागे नेपाली, उठे नेपाली, जुनेली रात हजुरलगायत गीत चर्चित छन् । उहाँले तत्कालीन नेपाल प्रजातन्त्र रेडियोबाट ती गीतमा स्वर भर्नुभएको थियो । तीलगायत ६ गीत प्रजातन्त्र रेडियोमा रेकर्ड भएको बताइएको छ ।

ती गीतले जहानियाँ राणा शासनविरुद्ध सङ्घर्षरत प्रजातान्त्रिक योद्धालाई आन्दोलनमा रहन उत्साह भरेको थियो । राणा शासनविरुद्धको आन्दोलनमा उहाँ कला र सांगीतिक मोर्चाबाट होमिनुभएको थियो ।

निरङ्कुशताविरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र साङ्गीतिक मोर्चामा रहेर काम गर्नुभएकी अधिकारीको जन्म विसं १९९० मा भएको थियो । स्व अधिकारीको गएराति नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँका एक छोरा र दुई छोरी हुनुहुन्छ ।

नेपाली राजनीतिकी आदर्श व्यक्तित्व नोना कोइरालाकी बहिनी हुन्, रानुदेवी । इतिहासमा स्नातकाेत्तर रानुदेवीले २०२३ देखि २०५३ सालसम्म अध्यापन गरेकी थिइन् । २००६ सालमै उनको विराटनगरका तीर्थप्रसाद अधिकारीसँग विवाह भएको थियो । त्यतिबेला उनी ८ कक्षामा पढ्दै थिइन् । उनका एक छोरा र दुई छोरी छन् । छाेरा र जेठी छाेरी अमेरिकामा बस्छन् । उनी कान्छी छोरीसँग काठमाडौंमा बस्दै आएकी थिइन् ।

तपाईको प्रतिक्रिया