पोखराबाट ६९ पर्यटकलाई काठमाडौँ पठाइयो

  बैशाख १८, २०७७

चिप्लेढुङ्गा, वैशाख १८ : बन्दाबन्दीका कारण पोखरामै रोकिन पुगेका विदेशी पर्यटकलाई पोखराबाट काठमाडौँ पठाइएको छ । कोभिड–१९ का कारण सरकारले पछिल्लो पटक १० दिन बन्दाबन्दीको समय थपेपछि घर जान आत्तिएका विदेशी पर्यटकलाई सम्बन्धित देशका राजदूतवासको पहलमा पोखराबाट काठमाडौँ पु¥याउने व्यवस्था मिलाइएको हो ।

स्वीस राजदूतावासको पहलमा आज तीन पर्यटक बसले ६९ विदेशी पर्यटकलाई काठमाडौँ लैजाने व्यवस्था गरेको पर्यटक प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिनुभयो । उहाँका अनुसार लेकसाइडको हल्लनचोकमा बसको व्यवस्था गरेर सम्पूर्ण पर्यटकको ज्वरो मापन गरी गाडीमा बस्ने व्यवस्था मिलाइएको थियो भने सम्पूर्णलाई मास्क वितरण गरिएको थियो । बन्दाबन्दी यता पोखराबाट विभिन्न समयमा ९३५ पर्यटकको उद्धार गरिएको छ ।

काठमाडौँ जान लागेका पर्यटकमा ४० जना फ्रेन्च, ११ जना जर्मनसहित पोल्याण्ड, नर्वे, बेल्जियम, पोर्चुगल, अष्टे«लिया, इटाली, क्यानाडा, स्वीडेन, नेदरल्याण्ड, रमानिया मुलुकका रहेका छन् । काठमाडौँबाट फ्रेन्च राजदूतावासले पेरिसमा मे २ मा विमान चार्टर्ड गरेर नागरिकलाई स्वदेश फर्काउने व्यवस्था मिलाएको छ ।

पोखराका पर्यटन व्यवसायी एवं स्वीट्जरल्याण्डका लागि पोखरास्थित प्रतिनिधिसमेत रहनुभएका बसन्त दवाडीले फ्रेन्च नागरिकसहित यूरोपेली युनियनले नेपालमा अलपत्र परेका पर्यटकलाई स्वदेश फर्काउन पहल गरेको र आज फ्रेन्चसहित अन्य मुलुकका नागरिकलाई काठमाडौँ पठाइएको जानकारी दिनुभयो । पोखराका विभिन्न होटल एवं गेष्ट हाउसमा अझै पनि केही विदेशी पर्यटक रहेका र उनीहरुले आफ्नो देशभन्दा यतै सुरक्षित महसुस गर्ने गरेका पाइएको छ ।

ट्रेकिङ गर्न आएका विदेशी पर्यटकका भरिया अलपत्र
खाँदबारी : मकालु हिमाल ट्रेकिङ गर्न विदेशी पर्यटकसँग आएका १५ भरिया सभापोखरीमा अलपत्र परेका छन् । विदेशी पर्यटकसँग मकालु हिमाल ट्रेकिङमा हिँडेका भरिया लक डाउनका कारण सङखुवासभाको सभापोखरी गाउँपालिका–२ बाह्रविसेमा अलपत्र परेका हुन् ।

उनीहरुसँग आएका अस्ट्रेलियाका दुई, क्यानडाका दूई र फ्रान्सका एक नागरिकको गत चैत १८ गते नै कैलाश एयरको हेलिकप्टरबाट उद्धार भइसकेको छ । उनीहरुसँग आएका विदेशी पर्यटक फर्किए पनि भरिया भने सभापोखरीमै अलपत्र परेका गाउँपालिका अध्यक्ष रत्न सुब्बाले जानकारी दिनुभयो । उनीहरु अहिले गाउँपालिकाको प्रहरी चौकी नजिकै चउरमा टेन्ट बनाएर बसेका छन् । लकडाउनले अलपत्र परेका भरियाहरु सात जना तनहूँ र आठ जना काठमाडाँैका छन् । उनीहरु ३६ दिनदेखि सभापोखरीमै अलपत्र परेका छन् ।

उनीहरुलाई गाउँपालिकाले राहत सामग्री सहयोग गरेको गाउँपालिका अध्यक्ष सुब्बाले बताउनुभयो । उनीहरु घर फर्किने पास नभएका कारण सभापोखरीको बाह्रविसेमै रोकिएको अध्यक्ष सुब्बाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया