काठमाडौं, वैशाख १७ : समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण प्रकरणमा नेकपाका भातृ संगठनहरू अनेरास्ववियू र युवा संघ नेपालले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेतृ हिसिला यमी र विश्वदीप पाण्डेविरुद्ध उजुरी दर्ता गराउन खोजेका छन् ।
जनता समाजवादी पार्टीका नेताहरू सांसद यादवलाई महोत्तरीबाट काठमाडौं ल्याउने सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध उजुरी दर्ता गराउन सरकारी वकिलको कार्यालय काठमाडौंको कार्यालयभित्र रहेको बेला अनेरास्ववियू र युवा संघका कार्यकर्ता नाराबाजी गर्दैं त्यहाँ पुगेका थिए ।
तीनैजनाविरुद्ध अनेरास्ववियूका नारायण घर्ती र युवा संघका संजीव झाले उजुरी दर्ता गर्न खोजेका थिए । यसअघि महानगरीय प्रहरी परिसर टेकु पुगेका उनीहरूलाई दाबी नपुग्ने भन्दै प्रहरीले फर्काएको थियो ।
भट्टराई, यमी र पाण्डेले सांसद यादवको अपहरणबारे गलत सूचना सामाजिक संजालमार्फत फैलाएको दाबी गर्दै विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ का विभिन्न दफाअनुसार कारबाहीको माग गर्दै उजुरी दर्ता गर्न खोजिएको छ ।
उनीहरूको निवेदन भने सरकारी वकिलको कार्यालयले दर्ता गरेको छैन । निवेदक घर्तीले सरकारी वकिलको कार्यालयले अध्ययन अनुसन्धानको लागि एक हप्ताको समय मागेको तर आफूहरूले बुधबार फेरि आउने भनेर फर्किएको बताए । सांसद यादवलाई भट्टराईलगायत नेताहरूले बन्धक बनाएको घर्ती र झाको आरोप छ ।
अनेरास्ववियूका नेता आरसी लामिछानेले सांसद यादवलाई जबर्जस्ती महेश बस्नेत, किसान श्रेष्ठ र सर्वेन्द्र खनालविरुद्ध बोल्न लगाएकाले उजुरी हाल्न खोजेको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।